Shittalpati
हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम

गुल्मी, जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।

नमुना कृषकको रुपमा छनौट भई तालिममा सहभागीहरुले अन्य कृषकहरुलाई पनि व्यवसायिक बन्न प्रोत्साहन गर्ने उद्देश्यले हरित स्वयंसेवकलाई प्रविधि सिकाई तालिम दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कृषिको माध्यमबाट आर्थिक समृद्धिसँगै भोकमरी, गरिवी अन्त्य गर्न सकिने बताए । प्रजिअ पौडेलले कृषि पेशा अझै पनि सम्मानित पेशा बन्न नसकिरहेको भन्दै कृषि बिना दिगो विकास समेत हुन नसक्ने धारणा व्यक्त । राज्यको ध्यान कृषिमा कम गइरहेकाले अब नीति निर्माण गर्ने सन्दर्भमा कृषिलाई पृष्ठपोषण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

हरित स्वयंसेवकहरुको तालिमले कृषि कर्म गर्न थप उर्जा थप्ने उनले विश्वास व्यक्त गरे । तालिममा सहभागी कालीगण्डकी गाउँपालिका–३ जयखानीका प्रकाश पाण्डे मगरले तालिमले आफुहरुलाई उर्जा मिलेको बताए । हरित स्वंयसेवक सञ्जालका अध्यक्ष कृष्णबहादुर बस्नेतले कृषि नीति नभएका कारण कृषकहरुलाई समस्या भएको बताए । बजारीकरण समस्या रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताए । कृषि ज्ञान केन्द्रका अधिकृत हरिप्रसाद आचार्यले जिल्लाका ७३ वडामा हरित स्वंयसेवक सञ्जाल गठन गरिएको बताए । तम्घासमा तीन दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाका ३८ जना हरित स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update