Shittalpati
चैते दशैंको महत्व

नेपाली समाजमा मनाइने हरेक चाडपर्वहरूको आफ्नै विशेष महत्व रहने गर्दछ । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरक–फरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोल अनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने गरेको पाइन्छ । चैते दशै पनि चाडपर्वहरुको एक महत्वपूर्ण पर्व हो । चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । यो चैते दशैं शरद ऋतुमा मनाइने बडा दशैंमा जस्तो बाहिरी उल्लास र चहल पहल नभए पनि समग्रमा उल्लासमय हुने गर्दछ । यस दिन दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ ।

वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । शक्ति स्वरूप भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ । चैते दशैंको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने जनविश्वास रहिआएको छ । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । चैते दशैंका दिन उनीहरुको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्य माथि सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता छ । आजका दिन छोरी चेली लगायत दिदी बहिनीहरुलाई बोलाएर खुवाउने चलन पनि गाउँघरमा रहेको छ । पछिल्लो समयमा चाडपर्वको रौनकता र महिमा घट्दै गए पनि गाउँघर तिर भने उत्तिकै महत्व रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update