.jpg)
गुल्मी, जिल्लाको मालिका गाउँपालिकाका घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले गाउँपालिकाको केन्द्र अर्खाबाङ्गबाट डिजिटल परिचयपत्रको शुभारम्भ गरेका हुन् । त्योसँगै घरधुरीका लागि विद्युतिय घर नम्बर र परिचय पत्र वितरण कार्य सुरु भएको छ ।
भिलेज प्रोफाइल अन्तर्गत घर–घरमा डिजिटल घर नम्बर कायम गरिने छ । जसबाट सबै प्रकारका तथ्यांक हेर्न सकिने गरेर परिचयपत्र बनाइने छ । अहिले डिजिटल परिचयपत्रको लागि घर–घरमा कर्मचारी खटाएर विवरण संकलन गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले सुचना र प्रविधिमा थुप्रै विकास गरेको र गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको अवस्था बुझ्न डिजिटल परिचयपत्रले महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । प्रत्येक घरको (जिआइएस) प्रविधिमार्फत डाटा संकलन गरिएको छ । गाउँपालिकाले निर्माण गरेको उक्त विद्युतिय कोड स्क्यान गरी सजिलै आफुले चाहेको घरसम्म पुग्न सकिने छ भने डिजिटल परिचय पत्रमार्फत घर परिवारको व्याक्तिगत विवरण, टोल तथा सम्पर्क र घरको नक्सा हेर्न सकिने गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए । घरमा उपलब्ध गराईएको विद्युतीय घर नम्बर वा परिचय पत्र नम्बरको शुभारम्भ गर्नु पहिले गाउँपालिकाले डिजिटल भिलेज प्रोफाइल निर्माण गरिसकेको छ ।