Shittalpati
शान्ति समाजको गुल्मीमा प्रदर्शन

गुल्मी, मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी र गण्डकी प्रदेशका २१ जिल्लामा युद्व निषेध शान्ति विशेष लगायतका नाराका साथ एकैसाथ प्रदर्शन गरेको छ । गुल्मीमा पनि हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत प्रदर्शन गरिएको हो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नदीनाला जोगाउन आवश्यक रहेको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज गुल्मीले तम्घासमा आयोजना गरेको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खानालले नदीनाला जोगाउन आवश्यक रहेको बताएका हुन् ।

उनले जलवायु परिवर्तनका कारणले हिमालय पग्लिन थालेको भन्दै नदिनाला जोगाउनतर्फ सबैको ध्यान जान आवश्यक रहेको औल्याए । उनले सबैले समय अनुसार वैज्ञानिक शिक्षा पाउनु पर्ने बताए । सभापति खनालले प्राविधिक शिक्षा महंगो भएको भन्दै यसलाई सर्वसुलभ बनाउनु पर्नेमा समेत जोड दिए । उनले प्राविधिक शिक्षामा सबैले समान अवसर पाउनु पर्ने उल्लेख गरे । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योजना अनुरूप भोट हाल्न उनले सबैलाई आग्रह समेत गरे । प्रस्ट, नीति र योजना बनाउन सक्ने, प्राकृति दोहन रोक्न सक्ने र गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा उपलब्ध गराउन सहि प्रकारको नेतृत्व छनोट गर्न आग्रह गरे । कार्यक्रममा केन्द्रीय उपसभापति कृष्ण बहादुर रावलको समेत सहभागिता रहेको थियोे । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको समाजका सभापति ढुण्डीराज पोखरेलले बताए । जिल्ला उपसभापति डोरविक्रम श्रीसको स्वागत, सचिव गणेश अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update