Shittalpati
यातायात व्यवसायी भन्छन् ‘हामीलाई सरकारले बेवास्ता गर्‍यो’

हाम्रा संवाददाता
पाल्पा, सरकारले आफुहरुलाई बेवास्ता गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले कोभिडका कारण यातायात क्षेत्र तहसनहस भइरहँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरे । तानसेनमा भएको श्रीनगर यातायात सेवा कम्पनी प्रालि पाल्पाको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्ने अधिकांश व्यवसायीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको बताएका हुन् । उनीहरुले सरकारले बेवास्ता गर्दा यातायात क्षेत्र धरासायी भएको र व्यवसायी पलायन हुने अवस्थामा पुगेको समेत गुनासो गरे । पेट्रेलियम पदार्थमा भारी मूल्य वृद्धि हुँदा समेत ढुवानीमा भाडाको उचित समायोजन नभएको भन्दै व्यवसायीले तत्काल भाडा बढाउन माग गरे । उनीहरुले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहिले भाडा समायोजन नहुँदा थप समस्यामा परेको गुनासो गरे ।

यातायात व्यवसायीले गरेको योगदान राज्यले बुझ्न नसकेको भन्दै उनीहरुले कहिलेकाहीँ व्यवसायी एक नहुँदासमेत राज्यले आफूहरूलाई बेवास्ता गरेको बताए । कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई सरकारले बेवास्ता गरेको बताए । सरकारको ‘कुल राजस्वमा यातायात क्षेत्रको योगदान झण्डै १७ प्रतिशत रहेको छ । तर हामीलाई सरकारले बेवास्ता गर्छ’ उनले भने । कोरोना महामारीका कारण लामो समय सवारी साधान थन्काएर राख्नु परेको पिडा सुनाउँदै अध्यक्ष कर्माचार्यले यातायात क्षेत्र धरासयी भैरहँदा यसका समस्या समाधानमा राज्य मौन बस्ने गरेको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले राज्यको अदुदर्शी नीतिका कारणले यातायात क्षेत्रमा लगानी गर्नेहरूको लगानी सुरक्षित हुन नसकेको बताए । उनले यातायात क्षेत्रमा ठूलो लगानी गरेर सरकारलाई सहयोग गरे पनि सरकारले आफुहरुलाई असहयोग गरेको गुनासो गरे । कार्यक्रममा महासंघका गण्डकी प्रदेश संयोजक भानुभक्त बराल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, रविन्द्रमान श्रेष्ठ, विष्णु काफ्ले, सञ्जीव रोक्का लगायतले कोरोनाकालमा व्यवसायीले सम्पूर्ण सम्पत्ति गुमाउनेसम्मको अवस्था सिर्जना हुँदा सहुलियतका कार्यक्रम नपाएको गुनासो गरे । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले यातायात व्यवसायीहरुलाई अनुशासित बन्न आग्रह गरे ।

यस्तै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य रामेश्वर पन्थी, नेकपा एसका अध्यक्ष कमल पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष मुक्ति न्यौपाने लगायतले बढ्दो दुर्घटना र ट्राफिक नियमप्रति व्यवसायी सचेत बन्नु पर्ने बताए । कम्पनिका अध्यक्ष डिलबहादुर ढुङ्गानाले कर्मचारी तथा व्यवसायीको बीमा, प्रविधिमैत्री कार्यालय सञ्चालन, पेशाप्रतिको जिम्मेवारी बनाउन सचेतनामूलक कार्यक्रम, अनलाईन टिकट बुकिङ लगायतका योजना अगाडि बढाउने कार्ययोजना रहेको बताए । सोही अवसरमा कम्पनीले भदौ १५ गते पिपलडाँडामा पहिरोले पुरिएर मृत्यु भएका ब्यवसायी राजकुमार थापाको परिवारलाई ५ लाख आर्थिक सहयोगको समेत गरेको छ । यस्तै अधिवेशनले कम्पनीमा नयाँ नेतृत्व चयन गरेको छ । डिलबहादुर ढुङ्गानाको अध्यक्षतामा ११ सदस्य र क्षेत्रीय तथा वर्गिय संयोजक गरी २९ जनाको नयाँ कार्यसमिति चयन गरेको कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतमको बताए ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update