Shittalpati
पाल्पामा किर्ते नागरिकता बनाउने युवक पक्राउ

पाल्पा, किर्ते नागरिकता बनाउने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले किर्ते नागरिकता बनाएको अभियोगमा बाग्लुङ गलकोट नगरपालिका–८ पचुँवा काँडेबासका २३ वर्षीय धनबहादुर कँडेललाई पक्राउ गरेको हो ।

बाग्लुङको काँगडेबास स्थायी घर भई हाल पाल्पाको रामपुरका स्थायी बासिन्दा पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हो भनि किर्ते नागरिकता बनाएको अभियोगमा कँडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

किर्ते नागरिकता बनाएको भन्दै रामपुर नगरपालिका– १० का पिताम्बर अधिकारीले धनबहादुर सहित सनाखत गर्ने कृष्ण अधिकारी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले उजुरीपछि अनुसन्धान गरेर कँडेल (परिवर्तित नाम विजय अधिकारी) लाई पक्राउ गरेको हो । अधिकारीले नागरिकता नम्वर ३९–०१–७२–०८५०२ को झुठो विवरण पेश गरी कंडेललाई पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हो भनि किर्ते नागरिकतामा सनाखत गरिदिएका थिए । किर्ते नागरिकता बनाउने कंडेलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । एक वर्षअघि नै धनबहादुरले रामपुरका केही स्थानीय व्यक्तिको संरक्षणमा किर्ते नागरिकता बनाएका थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update