Shittalpati
गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी

पाल्पा, गुल्मेली संगम पाल्पाको अध्यक्षमा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । तानसेनको श्रीनगर डाँडामा भएको संगमको प्रथम अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । गुल्मी शान्तिपुरका सुवेदी विगत १६ वर्षदेखि पाल्पामा रहेर अध्ययनसँगै विद्यार्थी राजनीति र व्यवसाय गर्दै आएका छन् । उनी एभरग्रीन एजुकेशस सेन्टर पाल्पाका प्रवन्धक समेत हुन् । सवेदी राजनीति र व्यवसायसँगसँगै विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय रहेका छन् । संगमको अध्यक्षमा चयन भएसँगै सुवेदीले शित्तलपाटीसँगको कुराकानीमा संगमलाई सशक्त बनाएर लैजाने बताएका छन् । उनले गुल्मीबाट आई विभिन्न पेशा व्यवसायमा संलग्न रहेकाहरुको समस्या समाधानमा आफु लागि पर्ने बताए । नवनिर्वाचित अध्यक्ष सुवेदीले सबैलाई समेटेर अगाडि बढ्ने र संस्थाको कोष वृद्धिसँगै सदस्यता वृद्धिमा समेत ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । 

अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा डासुराम पन्त,सचिवमा गंगाबहादुर खत्री, सह–सचिव युवराज चन्द, कोषाध्यक्षमा गुनाराम खनाल रहेका छन् । यस्तै सदस्यहरुमा मोती खड्का, लक्ष्मी ज्ञवाली, कोपिला रेग्मी न्यौपाने, जयराम सापकोटा,रामजीवन ज्ञवाली,बालकृष्ण भण्डारी चयन भएको संगमले जनाएको छ । अधिवेशनले सल्लाहकारहरू समेत गठन गरेको छ । जसमा मिरा मरासिनी, जगन्नाथ पन्त,भेषराज सुवेदी, महेन्द्र पन्थी र जीवलाल सुवेदी रहेका छन् ।

संगमले अधिवेशनसँगै बनभोज कार्यक्रम समेत गरेको छ । उसले गुल्मेलीहरुबिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले बनभोज कार्यक्रम आयोजना गरेको हो । श्रीनगर डाँडामा भएको बनभोज कार्यक्रममा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको उल्लेखीय सहभागिता रहेको थियो । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले हरेक वर्ष विभिन्न क्षेत्रमा आवद्ध गुल्मेलीहरुसँग भेटघाट र मिलन गराउदै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update