Shittalpati
ढाका कपडाको राजधानी बन्यो पाल्पा

पाल्पा, ढाकाको पहिचना बनाएको पाल्पालाई राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तानसेन नगर सरकार र पाल्पाली ढाका संघले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन् । लुम्बिनी प्रदेश सरकारकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले पाल्पालाई औपचारिक रुपमा ढाका कपडाको राजधानी भएको घोषणा गरेकी हुन् ।

घोषणा कार्यक्रममा मन्त्री घर्तीले पाल्पामा महिलाको जिविको पार्जनको मुख्य माध्यम ढाका कपडा व्यवसाय भएकाले महिलाहरुलाई आर्थिक उपार्जनका लागि प्रदेश सरकार व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताईन । उनले महिलाहरुले ढाका कपडा बुन्ने र जिविकोपार्जन मात्र गर्ने होइन महिलाहरु अब ढाका उद्यमी बन्नु पर्ने बताउँदै प्रदेश सरकार महिलालाई उद्यमी बनाउन सहयोग गर्ने बताईन । कार्यक्रममाउद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव हेमराज सुवेदीले सबैको सहयोगको कारण पाल्पाली ढाका उद्योग राजधानी बन्ने अवसर पाएको बताए । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सह–सचिव नारायण प्रसाद दवाडीले पाल्पाका ढाका उद्योग भावनाले मात्र चल्दैन, उत्पादन बजारीकरणसँंगै विविधिकरण र आधुनिकरण गरी पाल्पाली ढाका कपडाहरुको उत्पादनसँगै उद्योगहरु पनि बाहिरी जिल्लामा स्थापना हुनुपर्नेमा बताए । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले पाल्पाली ढाका कपडा उद्योग निकै पुरानो उद्योग भएकाले, परम्परागत, मौलिक तरिकाबाट उत्पादन गर्नुपर्ने बताए । कार्यक्रममा पाल्पा ढाका संघकी अध्यक्ष पूर्णमाया महर्जनले आफ्नो मेहनतले आज बल्ला सार्थकता पाएको बताईन । ढाका कपडाको राजधानी घोषणासँगै ढाका व्यबसायीलाई चुनौती थपिएकाले सबै मिलेर ढाका कपडा उद्योग तथा उत्पादन विस्तार गर्नुपर्नेमा जोड दिइन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले ढाका उद्योगहरु नगर भित्र मात्र सिमित नभई अन्यत्र पनि विस्तार हुनुपर्ने बताए । युके एड सिप परियोजनाका प्रतिनिधी संजय ज्ञवालीले पाल्पाली ढाका उद्योगहरुमा सिप सिकाउँदै, दक्ष कामदार निर्माण गरी उद्योगहरुमा रोजगारी सिर्जनामा सहयोग गर्दै आएको बताए । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले पाल्पाली ढाकाको विविधकरण तथा बजारीकरणमा जोड दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बाहिरबाट आयातित ढाका कपडालाई जिल्लामै उत्पादन भएको ढाका कपडाले विस्थापित गर्नुपर्ने बताए ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवि पोखरेल, नगर उप–प्रमुख लक्ष्मीदेवी पाठक, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सीना, नेपाल रेडक्रस पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले पाल्पालाई ढाका कपडाको राजधानी घोषणाले स्थानीयस्तरमा ढाका कपडाका उद्योगहरु फैलिदै जाने र रोजगारीको संख्या वृद्धि हुने बताए । नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा प्रसाद थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update