Shittalpati
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’

पाल्पा, नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन छ । समाजमा बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा रही रहेका बेला पाल्पामा भने छोरीहरुले बाबुको काज किरिया गरेका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ जना दिदीबहिनीहरुले बाबुको काज किरिया गरेका हुन् । चैत ७ गते ६७ वर्षीय बाबु रेवत हिस्कीको मृत्यु भएपछि मैदानका ६ दिदी बहिनीहरु अहिले बाबुको काज किरियामा छन् । दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेम कुमारी र सिर्जना हिस्की बाबुको काज किरिया गरिरहेका छन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र किरिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् । छोरीहरु किरियाकर्ममा बस्न नपाउने भनि शास्त्रमा कही उल्लेख नभएको उनीहरु बताउँछन् । छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउनका लागि आफुहरु बुवाको काज किरियामा बसेको छोरीहरुको भनाई छ ।

३ जना विवाहीत र ३ जना अविवाही छोरी बाबुको काज किरियामा बसेको पद्यम पव्लिक नमूना माध्यमकि विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले बताए । बुबाको किरियामा बसेका दुई दिदी बहिनी पद्यम पव्लिकमा अध्ययन गर्दै आएका छन् । मन कुमारी कक्षा १२ र सिर्जना कक्षा १० मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक शर्माले बताए । मृतक हिस्कीको परिवार विपन्न भएकाले विद्यालयका विद्यार्थीहरुले एक दिनको खाजा खर्च कटाएर आर्थिक सहयोग गरेका छन् । विद्यार्थीहरुले आफ्ना साथीको घरमा परेको दुखमा साथ दिन केही भए पनि सहयोग गरेको बताए ।

६ दिदीबहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृत्यु भएको विद्यालयका प्रधानाध्यापक शर्माले बताए । यहाँका स्थानीयहरुले समेत छोरीहरुले गरेको कार्यको खुलेर प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update