Shittalpati
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य

रामपुर, बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।

‘अदुवा खरिद नगर्ने बाहनामा भारतले कृषकलाई दुःख दिँदै ल्याबटेस्ट प्रमाणित गरेर अदुवा ल्याउन निर्देशन दिने गरेको छ, गाउँमा यस्ता प्रविधि भित्रिएको छैन, कृषकले अदुवा बोकेर ल्याबटेस्ट गर्न कहाँ जाने हो ? नेपाली अदुवाको बजार समस्याको बाधक भारत सरकार बनेको छ’, उनले भने । उनका अनुसार प्रतिकिलो १ सय रुपैयाँमा बीउ खरिद गरेर अदुवा लगाए पनि कृषकले विक्री गर्नुपर्दा २० रुपैयाँदेखि ३० रुपैयाँ पनि नपाउने अवस्था छ । उत्पादन भएको अदुवा तत्काल बिक्री नभएपनि भण्डारण गरेर वैशाख १५ देखि असार १५ सम्म सुरक्षित साथ राख्न सकेको खण्डमा त्यसपश्चात् अदुवाले राम्रो मूल्य पाउने कृषक बस्यालको अनुभव छ । तर यहाँ भण्डारणको कुनै व्यवस्था छैन । पाल्पामा अदुवाखेती नगदेबालीका रुपमा स्थापित भएको छ । उत्पादनको हिसाबले नेपाल विश्वमा तेस्रो मुलुकमा पर्छ भने पाल्पा अग्रणी जिल्ला मानिन्छ । अन्य जिल्लामा उत्पादन भएको अदुवाको तुलनामा यहाँको अदुवाको छुट्टै विशेषता छ, प्रतिकिलो पाँच रुपैयाँ बढीले बजारमा बिक्री हुन्छ । पछिल्ला वर्षमा भने अदुवाले बजार नपाएको गुनासो बढेको छ । एक धार्नी अदुवाले २० रुपैयाँदेखि २५ रुपैयाँ मूल्य पनि नपाउने अवस्था रहेको बताउँछन्, अदुवा व्यवसायी समिति (जोन कार्यक्रम अन्तर्गत) अध्यक्ष हेमबहादुर खाम्चा । उनी भन्छन्, ‘गाउँमा अदुवाको प्रशस्त उत्पादन हुन्छ, आयआर्जनको बलियो स्रोत अदुवा खेती हो, तर उत्पादित अदुवाको बजार नहुँदा कृषकको मेहनतले प्रतिफल नपाएको अवस्था छ, बजारीकरणको व्यवस्था सम्बन्धित निकायले मिलाउनुपर्छ ।’ यहाँका ग्रामीण भेगका धेरै कृषकको साँझ बिहानको गुजारा चलाउने माध्यम अदुवा व्यवसाय हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन हुन्छ ।

जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । अदुवा उत्पादन हुने बेला भएपछि वर्षेनी कृषकलाई भारत बजार नै पर्खनुपर्ने अवस्था छ तर भारतले सहजै अदुवा खरिद नगरेको बताउँछन्, निस्दी गाउँपालिका–७ बस्ने तुलबहादुर सारु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पाल्पाले यस वर्षदेखि अदुवाखेती प्रवद्र्धन गर्न विभिन्न पालिकामा ब्लक तथा जोन कार्यक्रम सुरु गरेको छ । अदुवाको बीउबिजन अनुदान शीर्षकमा ५० लाख रुपैयाँ, भण्डारण प्रशोधनमा पाँच लाख रुपैयाँ, यान्त्रिकरण र सिँचाइमा १५ लाख रुपैयाँ, जिल्लास्तरीय तालिमतर्फ एक लाख ४४ हजार रुपैयाँ, समिति गठन र परिचालनमा ८३ हजार रुपैयाँ, उत्पादकत्व निर्धारणतर्फ सात हजार रुपैयाँ गरी विभिन्न शीर्षकमा करिब ८२ लाख ३४ हजार रुपैयाँ रकमको काम हँुदैछ । विक्रीका लागि भारतकै भर पर्नुपर्दा पछिल्ला वर्षमा जिल्लामा अदुवाको उत्पादन घट्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराई बताउँछन् ।

अदुवा खेतीलाई प्रवद्र्धन गर्दै कार्यालयले यसै वर्षदेखि रामपुर, निस्दी, पूर्वखोला र बगनासकालीमा जोन कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए । ‘अदुवालाई विविधीकरण गर्न नसक्दा बजार अभावमा कृषकले अदुवा कुहाउन बाध्य भएका छन्, कार्यालयले कृषकको माग र चाहना अनुसार उत्पादनका आधारमा अदुवा विविधीकरणमा गर्ने, भण्डारण केन्द्र र प्रशोधन प्रविधिमा सहयोग कार्यक्रम अगाडि बढाइएको छ’, उनले भने । पाल्पामा कूल ८ सय ७५.२१ हेक्टर क्षेत्रफलमा अदुवाखेती गर्ने गरिएको कार्यालयको तथ्याड्ढ छ । जस अन्तर्गत तानसेन नगरपालिकामा १ सय १२, रामपुर नगरपालिकामा ६०, रैनादेवी छहरा गाउँपालिकामा ५६, रिब्दिकोटमा १४.१६, बगनासकालीमा ३ सय ३७, निस्दीमा २ सय ७७, तिनाउमा ११.७, पूर्वखोलामा ९८, रम्भामा ४.८५ र माथागढीमा ३३.५ हेक्टर क्षेत्रफल अदुवाखेतीले ढाकेको छ । यहाँ वार्षिक उत्पादकत्व १२ टन रहेको कार्यालयको तथ्याड्ढमा उल्लेख छ । रामपुर नगरपालिकाको–१ मा अदुवा बेसार पकेट कार्यक्रम अन्तर्गत १ सय ४० रोपनी क्षेत्रफलमा खेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनका अनुसार सबैजसो वडामा अदुवाखेती हुने गरे पनि व्यावसायिक हिसाबले नगरको १, ७ र ९ वडा अदुवा पकेट क्षेत्रका रुपमा रहेको छ । पूर्वखोला गाउँपालिकामा ७० हेक्टर क्षेत्रफलमा यो वर्ष अदुवा ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक सन्तोष कँडेल बताए । भारत सरकारले समयमा नै अदुवा खरिद नगर्ने, कृषकको लागत मूल्य नै नउठ्ने गरी अदुवाको मूल्य कायम गर्दा कतिपय कृषकले बारीमै अदुवा कुहाउन बाध्य छन् ।

उत्पादनसँगै भण्डारणको राम्रो व्यवस्था भएमा अदुवाले राम्रै बजार पाउँछ । पाल्पा जिल्लामा २७ वर्षदेखि अदुवाको व्यावसायिक खेती गरिएको छ । जङ्गली जनावरले नखाने, नगदेबालीका रुपमा रुपमा रहेको अदुवालाई भण्डारण गरेर राख्ने, विभिन्न प्रविधिबाट विविधीकरणको व्यवस्था गर्न सकियो भने यसले राम्रै लाभ लिन सकिन्छ । भण्डारणको व्यवस्था ठाउँ–ठाउँमा व्यवस्था गरेमा अदुवा नबिक्ने समस्या हट्नेछ । पछिल्लो पाँच वर्षयता भारतले अदुवा खरिदमा आलटाल गर्दा पाल्पाली अदुवा व्यवसायी कृषक मारमा परिरहेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतका रुपमा अदुवा रहेको छ । व्यापारीले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनत अनुसारको भाउ कृषकले नपाएका हुन् । यहाँ वर्षेनी १२ हजारदेखि १३ हजार मेट्रिकटनसम्म अदुवा उत्पादन हुने गर्दछ । त्योमध्ये पाँच हजारदेखि छ हजार मेट्रिकटन अदुवा भारत बजारमै बिक्री हुने गरेको पाइएको छ । भारतमा कम अदुवा उत्पादन हुदा पाल्पाका अदुवा खरिद गर्ने र त्यहाँ अदुवाको उत्पादन बढेपछि अदुवा खरिद नगर्ने गरेको पाइएको छ ।

नेपाल सरकारले अदुवाको न्यूनतम मूल्य तोक्न नसक्दा पनि अदुवा बिक्रीमा समस्या आइरहेको छ । वर्षेनी अदुवाको मूल्य उतारचढावले कृषकलाई व्यवसायमा ठुलो नोक्सानी पारेको छ । पाल्पामा उत्पादन भएको अदुवा जिल्ला अदुवा उत्पादक संघ पाल्पामार्फत भारतमा निर्यात हुनेगर्छ । मूल्यमा उतारचढावका कारण गाउँ–गाउँमा अहिले अदुवा उत्पादन गर्ने कृषक कम हुँदै गएका छन् । जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम अन्तर्गत पाँच वर्षअघि उद्योग वाणिज्य संघमार्फत अदुवा खेतीका लागि प्रवद्र्धन गरी व्यावसायिक रुपमा अगाडि बताइएको हो । जिल्लाको गल्धा, सहलकोट, बाकामलाङ्ग, भैरवस्थान, पालुङ्गमैनादी, फेक, ठिमुरे, खानीगाउँ, पूर्वखोला र बराङ्ग क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । अदुवामा चुनौती रहेकाले सरकारले एउटा नीति बनाएर अदुवाको बजार व्यवस्थापन गर्न कृषकको माग छ । –रासस

 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update