Shittalpati
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’

पाल्पा, जिल्लाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ सञ्चालन हुने भएको छ । जिल्लाको तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको हो । सुन्तलाको व्यावसायिक रूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको जनाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५ सय बढी हेक्टरमा व्यावसायिक रूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताए । जिल्ला समन्वय समितिका कावा प्रमुख मीरा मरासिनीले व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताइन् । व्यावसायिक रूपमा यस क्षेत्र उपयुक्त रहेकाले सुन्तला खेतीप्रति आकर्षित हुन उनले कृषकलाई आग्रह गरिन् । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले व्यावसायिकरूपमा उत्पादित सुन्तलालाई प्रशोधन गरी बजार पठाउन सकिने बताए । उपाध्यक्ष लक्ष्मी खनाल, सुन्तला जात तथा फलफूल विकास केन्द्रका प्रमुख वसन्त श्रेष्ठले व्यावसायिक सुन्तला खेतीको अवसर रहेकाले मेहेनत आवश्यक रहेको बताए । यस्तै यहाँका चार स्थानीय तहका सुन्तला जात फलफूल खेती गर्ने किसानको अगुवाइमा सुन्तला जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । संयोजकमा रैनादेवी छहरा गाउँपालिका–४ का नित्यानन्द पोखरेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यहरूमा रैनादेवी छहरा–४ की जानका कोइराला, रैनादेवी–५ का विनोद कार्की, रिब्दीकोट गाउँपालिकाका कृष्णबहादुर कुँवर, लक्ष्मी थापा, दुर्गाबहादुर गोदार, तानसेनका कृष्णप्रसाद भण्डारी, शोभाखर बस्याल र बगनासकालीकी लक्ष्मी कोइराला रहेको परियोजना एकाइका खरिदार गौरव नेपालीले बताए । –रासस

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update