Shittalpati
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित

पाल्पा, पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए । जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो । गत आवमा अत्याधिक चिसोका कारण कफी उत्पादन कमी भएको उनले बताए । तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगामा किरा भेटिएको जानकारी दिए ।

कफी खेती छाहरीमा गरिने भएको र छाहरीको अभावका कारण चिसोले समस्या देखिएको बताइएको छ । कफी खेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानीअनुसार प्रतिफल नभएपछि किसान विस्थापित हुन थालेका छन् । कफी खेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबासका लागि झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ । व्यावसायिक रूपमा कफी गर्दा २० रुपैयाँमा एक किलो विक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले प्रतिकिलो ९० मा गाउँबाटै विक्री हुन्छ । राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिक रूपमै यसतर्फ आकर्षित भएको स्थानीयवासी यमबहादुर थापाले बताए । जिल्लाको आठ पालिकामा व्यावसायिक कफी उत्पादन, संकलन, बजारीकरणको पहुँच विस्तार गरिएको छ । यहाँका आठ स्थानीय तहमा १ सय ६३ हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा कफी खेती हुन्छ । कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ । –रासस

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update