Shittalpati
साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन

पाल्पा, शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले प्रतिभा सम्मान तथा कृति विमोचन गरेको छ । प्रतिष्ठानले आफ्नो १६ औं वार्षिक दिवस, ९३ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी वर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा प्रतिभा सम्मान तथा कृति विमोचन गरेको हो ।

शनिबार तानसेनमा भएको कार्यक्रममा प्रतिष्ठानले विगतमा जस्तै यस वर्ष पनि विभिन्न विधाका प्रतिभाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका १७ जना जेहेन्दार विद्यार्थीहरूलाई ज्योति छात्रवृत्तिबाट सम्मन गरिएको छ । उनीहरुलाई नगद रकम प्रदान गरिएको थियो । त्यसैगरी प्रतिष्ठानले स्वास्थ्यकर्मी अम्बिका मल्ल, सुरेन्द्र पौडेल, शिक्षा क्षेत्रका प्राध्यापक शारदा खनाल, देव प्रसाद बज्राचार्य, पत्रकार किरण कौशल, लेखक तथा साहित्यकारहरू निलकण्ठ न्यौपाने, अशोकमान सिंह, देबेन्द्र लम्साल, बम्किन चन्द्र खनाल, भागिरथी श्रेष्ठलाई विभिन्न पुरस्कारबाट सम्मन गरेको छ । उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै सोही अवसरमा साहित्यकार रोहित प्रसाद ज्ञवालीको कुण्ठा देशको, साथै कलाकार अशोकमान सिंहको कृति नेपालका महत्वपूर्ण सम्पदाहरूको किंबदन्ती र संक्षिप्त इतिहास पुस्तकहरूको विमोचन गरिएको छ । पुस्तकको प्रमुख अतिथि तथा अग्रज साहित्यकार हरिबहादुर कुंवरले विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै उनले लक्ष्य हासिल गर्नका लागि सबै प्रतिवद्ध भएर लाग्नु पर्ने बताए । विशिष्ट अतिथि डाक्टर प्रकाश राज रेग्मीले शिक्षा, स्वास्थ्य तथा साहित्य क्षेत्रमा ओझेल परेका व्यक्तित्वहरूलाई चिनाउनको लागि आफ्नो सहयोग निरन्तर रहने बताए । उनले कमलाज रेग्मी बर्ष पुरस्कारको राशी २५ हजार भएकोमा आउदो बर्षदेखि ५१ हजार पुर्‍याउने उद्घोष गरे । त्यसैगरी सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति आफैमा सन्तुष्ट हुने भएकाले समग्र पाल्पाका मुटु रोगीहरूलाई आफ्नो तर्फबाट विशेष सेवा र सहयोग गर्ने समेत उनले बताए । कार्यक्रममा कुण्ठा – देशको पुस्तकका समिक्षक टंक पन्तले नीति निर्माण र जिम्मेवार पदमा बसेका सबै नागरिकले तन, मन र बचनले काम गर्न सके अवश्य पनि देश समृद्ध र सफल हुने धारणा व्यक्त गरे । त्यसैगरी नेपालका महत्वपूर्ण सम्पदाहरूको किंबदन्ती र संक्षिप्त इतिहास पुस्तकका समिक्षक कमल खत्रीले सामान्य पाठकदेखि अनुसन्धनात्मक व्यक्तित्वहरूका लागि समेत पुस्तक ऐतिहासिक ज्ञानको भण्डार रहेको बताए । कार्यक्रममा राम प्रसाद अर्याल, बुद्धि प्रसाद शर्मा, पत्रकार प्रकाश नेपाल, गंगादेवी जिरेल, देवेन्द्र लम्साल, नीलकण्ठ न्यौपाने, अशोक आर्ट लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष विनोद भारतीले प्रतिष्ठानमा ७२ जना आजिवन सदस्य रहेको बताए । उनले प्रतिष्ठानको ७ लाख १८ हजार ९ सय ६३ बराबरको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरे ।

प्रतिष्ठानले पुष्कर राज रेग्मीको अध्यक्षतामा पुनः ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचन अधिकृत चित्रवलीराम सुवालले बताए । नवर्निवाचित अध्यक्ष रेग्मीले प्रतिष्ठानले आगामी दिनमा शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर जाने बताए । चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update