Shittalpati
हराउन थाल्यो तानसेनको फागु संस्कृति

मदन देउराली

आखिर यसपाली पनि चीर गाडिएन । २०७१ सालमा चीर गाडिएको थियो त्यसपछि यता चीर गाड्न छोडियो । तानसेनको एउटा परम्परागत संस्कृतिको अवसान भयो नै त भन्नु पर्ला । अग्रज पुस्ता थाके नयाँ पुस्ताले जाँगर चलाएनन् । काठमाडौं उपत्यका पछि नेवारी संस्कृतिको धनी भनिएको तानसेन अब विस्तारै संस्कृतिमा गरिब हुँदै गइरहेको छ । पाल्पाका अन्तिम सेनबंशी राजा पृथ्वीपाल सेनको हत्या पछि पाल्पा नेपालमा विलय भयो । त्यसपछि पाल्पाका लागि आएका तैनाथवालाहरुले तानसेनमा विभिन्न संरचनाहरु निर्माणको क्रममा काठमाडांै उपत्यकाबाट ल्याएका हिन्दु तथा बौद्ध नेवार कालिगढहरु तानसेनका स्थायी नागरिक भए ।

तिनीहरुले आफुहरुले उपत्यकामा मनाउँदै आएका सबैजसो जात्रा चाडपर्वहरु तानसेनमा पनि स्थापित गराए र मनाउन थाले । त्यसमध्ये कतिपय संस्कार, संस्कृति अहिले जेनतेन गरी बाँचिरहेका छन्, कतिपय लोप भैसकेका छन् । आफ्ना पूर्खाहरुले गर्दै आएका परम्परागत संस्कृति अहिले कतिपयले छोडन् सकिरहेका पनि छैनन् मनाउन पनि सकिरहेका छैनन् । तानसेनमा बजार त्यसबेला नेवार बस्ती थियो । आफ्नो व्यापार व्यवसायमा मस्त थिए नेवारहरु । तर विकासको क्रमले फड्को मारे संगै तानसेनको बजार सुक्दै गयो नेवारहरुले तानसेन छोड्दै गए । संस्कृति ओझलमा पर्दै गयो । सबै टोलटोलका बासिन्दाहरु संस्कृति संरक्षणमा लाग्थे तर अब यो परम्परा सबै टोलले छोड्दै गए टक्सार टोलमा मात्र सिमित भयो । अहिले पनि टक्सारटोल सकि नसकी संस्कृति संरक्षणमा लागिरहेका छन् । नेवारी संस्कृति अन्तर्गतका करिव करिव सबैजसो चाडपर्वहरु यहाँ मनाइन्छ । तर परम्परादेखि गर्दै आएको एउटा संस्कृतिलाई निरन्तरता दिन अहिलेका पुस्ता सक्रिय भएनन् । एउटा परम्परा तोडियो । त्यो हो फागु, अर्थात् होलीको अवसरमा टक्सारमा गाडिने चीर ।

शब्दार्थ नेपाली शब्द सागरका अनुसार चीर भनेको फागुन शुक्ल अष्टमीका दिन लिङ्गो गाडेर टाँगिने रंगीचंगी कपडा र ध्वजा वा लिङ्गो हो । फागुन शुक्ल अष्टमीको दिन चीर गाडिन्छ र होली फागु शुरु हुन्छ । यो वर्ष अष्टमी यही फागुण २० गते मंगलबारको दिन परेको थियो र यस दिन चीर गाडनु पथ्र्यो । तर भएन । कारण थुप्रै छन् खोतल्नु पर्छ । फागु, होलीको पनि आफ्नै धार्मिक मान्यता रहेको छ । किन मनाइन्छ त होली भन्ने विषयलाई कोट्याउने हो भने पौराणिक ग्रन्थ अनुसार भगवान विष्णुका घोर विरोधी हिरण्यकशीपुले आफ्नो छोरा प्रह्लादले विष्णुको ज्यादै भक्तिभाव गरेको सहन नसकी प्रह्लादलाई मार्न आफ्नो बहिनी ‘होलीका’को काखमा प्रह्लादलाई राखी आगो लगाइदिए । तर आगोले केही हानी नगर्ने वरदान पाएकी होलीका आगोमा जलेर खाक भइन् भने भगवान विष्णुका भक्त प्रह्लादलाई केही भएन । यसरी ‘होलीका’ दहन भएको दिनलाई होलीको पर्वको रुपमा लिइन्छ ।

यहाँ मनाइने फागु काठमांडौ भन्दा अलि फरक रहेको छ । काठमाडौंमा बाँसको लामो लिंगो गाडिन्छ भने यहाँ म्यालको रुखको हाँगा काटेर ल्याई चीरको प्रतिकको रुपमा गाडिन्छ । पुरानो परम्परा अनुसार अष्टमीको दिन सो म्यालको हाँगा काट्न जान भजन मण्डली फागु गाउँदै अप्पु भिलेज, बनदेवीतिर जान्छन् । नाइकेले रुखलाई पूजा गरी धूप बत्ति बाली सकेपछि मात्र हाँगा काटिन्छ । हाँगा काटेर बोकेर ल्याउँदा पनि फागु गाउँदै आउनु पर्छ । सो हाँगालाई टक्सार गणेश मन्दिर आगनमा गाडिन्छ तथा त्यस हाँगामा रंगी विरंगी कपडाका टुक्राहरु झुण्ड्याई भजन गाइन्छ । रुखमा रंगी चंगी कपडा झुण्डयाउनु भनेको कृष्णजीले गोपिनीहरुको बस्त्र रुखमा लुकाएको भनिन्छ ।

पौराणिक ग्रन्थ अनुसार यमुनाको तीरमा कृष्णले गापिनीहरुको चीरहरण गरेका थिए त्यस्को बदलामा गोपिनीहरुले पनि फागुनको महिनामा रंग र अविरले कृष्णलाई छ्यापी जुन उत्सव मनाए त्यसैलाई होलीको पर्वको रुपमा मनाउँदै आएको पनि भनिन्छ । हाँगा लिन जाने सबैलाई सम्हय बजी प्रसाद खुवाइन्छ । द्वादशीको दिन विहान पिचकारी खेल्ने गर्दछन् भने साँझपख फागु भजन गाउने गर्दछन् तथा उपस्थित सबैलाई प्रसाद सम्हयबजी खुवाइन्छ । चीर गाडिसके पछि फागु शुरु भएको मानि बच्चाहरु अविर पिचकारी, पानीको गुव्वारा खेल्न थाली हाल्छन् । फागु पूर्णिमाको दिन टक्सारबाट होली गाउने वयस्कहरुको समूह हात हातमा पित्तलको पिचकारी लिई फागु गाउँदै बजार परिक्रमा गर्दथिए भने यिनीहरुलाई घरघरबाट रंगले छयाप्ने गरिन्थ्यो ।

चीर गाडेको दिनदेखि ८ दिनसम्म लगातार हरेक टोल–टोलमा भव्य तवरबाट फागु खेल्ने गरिन्थ्यो । पूर्णिमाको दिन सो गाडिएको चीरलाई दहन गर्न तथा फागु समाप्त भयो भनेर जानकारी गराउन पुनः सबै टक्सारटोलबासीहरु जमा भई भजन गाउँदै सो चीरको हाँगालाई लगेर खोल्सातिर फाल्दथिए तथा सबैलाई अन्तिम सम्हयबजी प्रसाद खुवाइन्थ्यो । यसरी चीर गाडेको दिनदेखि पूर्णिमासम्म नेवारी परम्परा अनुसार तीनपटक सम्हयबजी खुवाउनु पर्दछ । त्यसबेला पाल्पाका लागि राणा तैनाथवालाहरु यस्ता मनोरंजनात्मक चाडपर्वहरुमा बढी रुची राख्दथे । दरबार प्रागणमा चीर गाडिन्थ्यो त्यसैले फागुको दिनहरुमा र होली गाउनेहरु दिनहुँ गएर होली गाउनु पथ्र्यो । पूर्वतिर फर्किएर गाउनु पथ्र्यो दरबारतिरबाट राणाहरुका परिवारहरुले हेरिरहने भएकाले पछाडी फर्केर हेर्न पाइन्न थियो रे । प्रत्येक साँझ टोलटोलमा शास्त्रीय संगीतमा आधारित फागु गाइन्थ्यो वातावरण फागुमय हुने गरेको अग्रजहरु बताउन्छन् ।

वास्तवमा त्यसबेला चाडपर्व मनाउनुको पनि आफनै आनन्द थियो । त्यसबेला आजको जस्तो मनोरञ्जनका सामग्रीहरु थिएनन् ता पनि प्रत्येक चाडपर्व जात्रा धुमधामका साथ मनाउँथे । आजभोलि बजारमा टन्नै प्लास्टिकका पिचकारीहरु देखिन्छन् बच्चाहरु त्यतैतिर झुम्मिन्छन् । तर त्यसबेला फागुको जुन रौनक हुन्थ्यो अब ति पाइदैन । झण्डै एक हात लामो पित्तलको पिचकारी या त्यस्तो पित्तलको पिचकारी लिन नसक्नेहरुले बाँसको ढुंग्रोलाई पिंधमा सानो प्वाल बनाई पिचकारी बनाई रंग खेल्थे । अहिले त अरु दिन यसो बेलुनमा पानी भरेर हान्ने वा पूर्णिमाको दिन अविर लगाई दिने मा मात्र सिमित भएको छ फागु । पिचकारी खेलिदैन भने पनि हुन्छ । हुन त विज्ञानको विकाससंगै पुराना संस्कृतिहरु पनि लोप हुँदैछन । आजकालका पुस्ताहरु मोबाइल, कम्युटरको प्रभावमा यतिसम्म के्रजी भईसकेछ कि उनीहरुलाई यताउताको केही मतलब नै हुँदैन भने पनि हुन्छ । यो अवस्थामा कसरी संस्कृति जिवित रहला । अर्को कुरा चीर गाड्नदेखि पूर्णिमाको भजन गर्दासम्म कम्तिमा पनि दश बारह हजार खर्च हुन्छ जुन केवल टोलबासीबाट उठाउने तथा आफुले चिनेजनेका सँग सहयोग माग्ने हो सामाग्री तयार गर्ने हो । अन्य कहीबाट आर्थिक श्रोतको बाटो छैन भने संस्कृति बचाउनेको नाममा कति सम्म आफुहरुले खर्च मात्र गर्न सकिन्छ संस्कृति संरक्षणमा लागिरहनु भएका दाजु मंगल प्रसाद बज्राचार्य गुनासो गर्नु हुन्छ ।

यो त हाम्रो मात्र काम त हैन नी आफ्नो ठाउँको संस्कृति संरक्षणको लागि त स्थानीय सरकारले पनि त सहयोग गर्नु पर्यो नी त नत्र कसरी संस्कृति बचाइ राख्न सकिन्छ सबैको भनाई यही नै छ । प्रत्येक वर्ष जस्तै यसपाली पनि हामीले दाजु मंगल प्रसाद बज्राचार्यलाई चीर गाडने कुरा गरेका थियौं र आवश्यक सहयोग हामी पनि गरौंला भनेका थियौं तर उहाँ आफु नसक्ने युवाहरु तयार नहुने भएकोले मान्नु भएन । अब त स्थानीय सरकार आई सकेछ बराबर संस्कृति संरक्षणको लागि काम भइरहेको सम्बन्धित निकायको उत्तर हुन्छ तर संरक्षण कहाँ भईरहेको छ थाहा हुदैन । विस्तारै भएका संस्कृति पनि लोप हुँदै गईरहेकाछन तर संरक्षणको पहल हुन सकेको छैन । लोप भैसकेका संस्कृतिलाई पुन जागरण गर्न त्यति सजिलो हुँदैन त्यसैले बेलैमा सोच्नु पर्ने हो ।

संस्कृति नभएको त हैन नी यहाँ त्यसबेला शास्त्रीय संगीतको वातावरणले तानसेन संगीतमय हुन्थ्यो । बराबर नाटक हुने गथ्र्यो, गुनु पून्हीमा छोकडा नाच हुन्थ्यो, बराबर लोकगीत गुञ्जायमान हुन्थ्यो, लाखे नाँच हुन्थ्यो । गाइजात्रामा रामायण निकालिन्थ्यो, ताहामचा निकालिन्थ्यो, बाघ जात्रा हुन्थ्यो, नेवारी चाड सिठीनखको बेला ढुंगेधारा सफा गर्दथे । स्वस्थानी पूर्णिमाको दिन एकजना भक्तले आफनो शरीरको भाथिल्लो भाग नागाें गरी केवल कछाड मात्र बाँधी भगवान शिवको मूर्ति बोकेर बजार परिक्रमा गर्दथे । घरघरबाट महिलाहरु सो शिवलिंगमा पूजा गर्दथे पानीको धारा बगाउँथे । माघको त्यस्तो चिसोको बेला पनि त्यसरी भगवानलाई बोकेर हिडनु अचम्भको परम्परा भन्नुपर्छ । त्यही राति दुईजना केटाहरुलाई महादेव पार्वर्र्ती बनाई भजन सहितले रथयात्रा गर्दथिए अहिले ति सबै छैनन् । संस्कृति पुस्तान्तरण हुन सकेन । अहिले चीर गाडन पनि छोडियो यसरी एकपछि अर्को गर्दै तानसेनको संस्कृति क्रमशः लोप हुँदैछन अब बाँकी संस्कृति पनि कुनै दिन लोप नहोला भन्न सकिन्न अनि यी सबै एकादेशका कथा हुनेछन् । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन्।)

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update