Shittalpati
किसानका समस्यामा गम्भीर बन

किसानहरू यति बेला खेतीपातीमा व्यस्त छन् । यो समय भनेको किसानहरुका लागि मानो छरेर मुरी उब्जाउने बेला हो । तर, तिनीहरू अनेकन समस्याको सामना गरिरहेका छन् । जुन समस्यातर्फ सरोकारवाला निकायको ध्यान पुग्नसकेको छैन । समयमा मल र बिउ नपाउनु किसानको विगतदेखिकै समस्या बनेको छ । किसानहरूले भोग्ने समस्या एक प्रकारका मात्रै हुँदैनन् । केही समस्या प्राकृतिक  समेत छन् । समयमै पानी नपर्नु, अतिवृष्टि वा अनावृष्टिको मार, बाढी, पहिरो, असिना, हावाहुरी, वन्यजन्तुको आतंक  जस्ता समस्या पनि किसानले वर्षौदेखि भोग्दै आएका छन् । यस्ता समस्या कसैको नियन्त्रणमा नहुने भएकाले दोष थोपर्ने ठाउँ भने छैन । कतिपय अवस्थामा खेतीबालीमा लाग्ने रोगले पनि किसानलाई ठूलो घाटा पुर्‍याउने गर्छ । खेती सुरु गरेदेखि भित्र्याउँदासम्म किसानले लगातार यस्ता जोखिमको सामना गर्नुपर्छ । यस्ता प्राकृतिक समस्याबाट हुने क्षति नियतिको नाममा स्वीकार्नुबाहेक विकल्प हुँदैन ।

अहिले मुख्य समस्या भनेको खेतीका बेला बिउ, मल, विषादी र कृषिऔजार समयमै उपलब्ध नहुनु हो । यसले गर्दा खेती गर्नुपर्ने प्राकृतिक समय चुक्ने र उत्पादन घट्ने स्वाभाविकै हो । माटो मलिलो पार्न र बाली हुर्काउन विभिन्न प्रकारका मल चाहिन्छ, झारपात नष्ट गर्न विषादी आवश्यक पर्छ । यी सबै चिज समयमा नपाउँदा खेती प्रणाली नै प्रभावित मात्र हैन किसानहरु खेति गर्न समेत छोड्दै जाने अवस्था सिर्जना भएको छ । कृषि प्रधान देश भनेर चिनिने हाम्रा उर्वभूमिहरु बाँझिन पुगेका छन् । राज्यले देश अनुकुलताको नीति नबनाउँदा हरेक  वर्ष किसानले समस्या भोग्दै आउनु परेको छ । यो अत्यन्त दुःखको कुरा हो । खेतीका लागि आवश्यक सबै सामग्री समयमै, सुलभ मूल्यमा उपलब्ध गराउनु प्राथमिकताको विषय हुनुपर्छ । तसर्थ सरकार र सरोकारवाला निकायले किसानका वास्तविक समस्यामा समाधानमा गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update