
मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । यद्यपि वर्षाको प्रकृति एउटै छैन । कतिपय क्षेत्रमा पानी परेको छैन भने केही ठाउँहरुमा निरन्तरको वर्षाले क्षति पुगेका घटनाहरु आइरहेका छन् । बर्षका कारण क्षति भइरहे पनि त्यसलाई रोक्नका लागि आवश्यक तयारी हुन सकेको छैन । सुरुवाती बर्षातबाट नै क्षति भैरहेका समाचारहरु बाहिर आएका छन् । बर्षाको मुख्य दिन अर्थात् बढी र निरन्तर लाग्ने झरीको समय अझै बाकि नै छ । त्यस बेला हुने जनधनको क्षति निकै नै भयावह हुन सक्ने छ । यसतर्फ सम्बन्धित निकाय गम्भिर बन्नु जरुरी छ ।
अझ नेपाल त्यसै पनि प्राकृतिक विपद्हरूको उच्च जोखिममा रहेको देश हो । भौगोलिक बनावट, जलवायु परिवर्तनको असर, अन्धाधुन्ध भौतिक संरचना निर्माण लगायतका कारण बाढी, पहिरो, डुबान जस्ता प्रकोप बर्षेनिको समस्या बनेको छ । प्रकोपका कारण अपूरणीय क्षति पुगिरहेको छ । यस्तो बेला तीनै तहका सरकारले संयन्त्रहरु तयारी अवस्थामा राख्न आवश्यक छ । अझ प्रदेश र स्थानीय सरकार विपद् व्यवस्थापनको पहिलो मोर्चा हुन् । तर यी सरकारहरूसँग न त पर्याप्त स्रोत छ, न त दक्ष जनशक्ति । बाढी पूर्वसूचना प्रणाली, सुरक्षित बस्तीको व्यवस्था, पहिरोका उच्च जोखिम क्षेत्रको नक्साङ्कन, खुला स्थानहरूको संरक्षण जस्ता पूर्वतयारीका काममा ध्यान दिनुपर्नेमा, सरकार अझै पनि ‘विपद् आएपछि के गर्ने’ भन्नेमा देखिन्छन् । जबकि सरकारले ‘विपद् पूर्व तयारी खर्च होइन, दायित्व हो’ भन्ने बुझ्नुपर्छ । जनधनको रक्षा गर्नु सरकारको पहिलो दायित्व हो । विशेषगरी यो दायित्व स्थानीय सरकारले लिनु पर्छ । हाम्रा तीन तहका सङ्गीय सरकार, प्रदेश सरकार र स्थानीय तहवीचको हातेमालो र एकीकृत प्रयासले विपद् न्यूनिकरणको प्रभावकारी कदम चाल्न सकिन्छ । समस्यालाई एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छने प्रवृतिको अन्त्य गरि विपद् न्यूनिकरणका लागि पूर्व तयारीलाई ध्यान दिने काम गरौं ।