
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –९, पराजुलीटोलस्थित देउराली डाँडाका आगलागी पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णप्रसाद बस्याल र उनका भाइ नेपाली काँग्रेस बगनासकाली –९ का वडा सभापति चिन्तामणी बस्यालले आगलागी पीडित सीता पराजुलीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
बस्याल दाजुभाइले पीडित पराजुलीको घरमै पुगी त्यहाँको अवस्था बुझ्नुको साथै नगद १५ हजार सहयोग गरेका छन् । उनीहरुले पीडितको साथमा हामीसँगै छौं भन्ने आभास दिलाउन सानो भए पनि आर्थिक सहयोग गरेको बताए । सोमबार साँझ भएको आगलागीले पराजुलीको गोठमा ठूलो क्षति पु¥याएको छ । बिजुली सर्ट भएर लागेको आगलागीले गोठमा रहेका एक भैंसी र ६ वटा बाख्रा जलेर मरेका थिए । आम्दानीको गतिलो माध्यम बन्दै आएको बाख्रा र भैसी आगलागीमा परेर मरेपछि पराजुली परिवार समस्यामा परेको छ । आम्दानीको स्रोत नै बन्द भएपछि पीडामा रहेको परिवारलाई राहात दिन बस्याल दाजुभाइ घरमै पुगेर नगद सहयोग गर्नुको साथै सम्बन्धित निकायमा सहयोगका लागि पहल गर्ने समेत बताएका छन् । समस्यामा परेका बेला घरमै आएर सान्त्वना दिनुको साथै आर्थिक सहयोग गरेकोमा बस्याल दाजुभाइलाई पीडित पराजुलीले धन्यवाद दिइन् । उनले भनिन् “ हाम्रो परिवारको आम्दानीको स्रोत नै बन्द भयो, त्यही एउटा भैसीको दूध, घिउ र बाख्रा बेचेर घरखर्च चलाउँदै आएका थियौं त्यही पनि आगोमा परेर मरे । हामी अति नै समस्यामा थियौं, हाम्रो समस्यालाई बुझेर उहाँहरुले सहयोग गर्नुभयो । यसले हामीलाई राहत र हिम्मत मिलेको छ ।” उनले यो सहयोगले बाख्रा किन्ने बताइन् ।
पीडितको घरमै पुगेका कृष्ण प्रसाद बस्यालले सहयोग सानो भए पनि दुखमा हामी सँगै छौं भन्ने आभास दिन सहयोग गरिएको बताए । उनले भने “दुःख परेका बेला सानो भए पनि साथ दिन सक्नु नै हाम्रो कर्तव्य हो ।” विपत्तिले हामीलाई कमजोर बनाउन खोज्छ, तर मानवता, करुणा र एकताको डोरीले हामीलाई अझ बलियो बनाउने बस्यालले बताए । उनले जनप्रतिनिधि हुँदा पनि विपन्न, गरिब, असहाय, विपद्मा परेकाहरुलाई सहयोग गर्ने गर्थे । सामाजिक र राजनीतिक कार्यमा सक्रिय बस्यालले पालिका अध्यक्ष हुँदा आफुले पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असहाय लगायतका क्षेत्रमा खर्चने गरेका थिए । काँग्रेसका वडा सभापति रहेका चिन्तामणी बस्याल पनि राजनीतिक र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन् ।