
पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सडक/राजमार्गमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुङ्गा खस्न सक्ने र सुख्खा पहिरो समेत गई यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने सम्भावना भएकोले प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको हो ।
प्रशासनले सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पामा पर्ने सिद्धबाबा राम्दी सडक खण्ड, तानसेन–रिडी– तम्घास सडकको तानसेन–रिडी खण्ड, रामपुर हुमिन ताँहु– आर्यभञ्ज्याङ् सडक खण्ड, हार्थोक छहरा– तिनगिरे सडक खण्ड र अन्य मुख्य सहायक मार्ग तथा ग्रामीण सडकहरुमा रातिको समयमा सवारी नचलाउन भनेको छ ।
जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रातको समयमा ढुङ्गा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रिकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिएको छ ।
जिल्ला सुरक्षा समिति, यातायात व्यवसायी, सरोकारवाला सहितको सर्वपक्षीय बैठकको निर्णय समेतका आधारमा स्थानीय सुरक्षा निकाय (नेपाल प्रहरीको स्थानीय युनिट) बाट मौसमको पूर्वानुमानको आंकलन/प्रक्षेपण तथा वर्षा / पानी परिरहेको परिस्थितिमा जुनसुकै समयमा सवारी साधन चलाउन पूर्ण रुपले निषेध गरी रोक लगाइन सकिने प्रशासनले जनाएको छ । उसले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ । प्रशासनले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह समेत गरेको छ ।