Shittalpati
आज काग र कुकुर तिहार मनाइँदै

सीमा भट्टराई
पाल्पा,  नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने दीपावली अर्थात् तिहार पर्व सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार मंगलबारदेखि सुरु भएको हो । पहिलो दिन मिथिलामा ‘धनतेरस’ मनाइएको छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन मंगलबार धातुका नयाँ सामान जोडेर धनतेरस मनाइएको हो । यस वर्ष यमदीपदान हिजोदेखि सुरु भए पनि काग र कुकुर तिहार भने आज परेको छ । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७: १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण काग र कुकुर तिहार एकै दिन परेको हो ।

आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ । कागले राम्रा र नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । त्यस्तै कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आइएको छ । आज पनि सबैले कुकुरलाई पुजा गर्दै छन् । कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गरिन्छ । अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाई, गोरु र आत्म (म्ह) पूजा कार्तिक १९ गते शुक्रबार परेको छ । यस दिन लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । यसै दिन साँझ लक्ष्मीपूजा गरिन्छ । घरआँगन सफासुग्घर राखिन्छ । रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई सम्पत्ति र सौभाग्यको प्रतिकका रूपमा लिइन्छ । यसै दिनदेखि भैलो खेल्न सुरु गरिन्छ । झ्यालढोकामा सयपत्रीको माला लगाएर घर सजिसजाउ पारे लक्ष्मी आउँछिन् भन्ने मान्यता छ । कात्तिक २० गते शनिबार यस वर्षको भाइटीका रहेको छ । यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याÞनकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।

भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मीठा परिकार खुवाउने गर्छन् । तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आ–आफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ । हिजोआज कतिपयले भने रेडिमेड दियो र बत्ती बाल्ने क्रम पनि बढेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update