Shittalpati
शिलाको ‘खुसीको खोजी’ विमोचन

पाल्पा,  साहित्यकार शालिक पाण्डे ‘शिला’ द्वारा लिखित ‘खुसीको खोजी’ कथा संग्रहको विमोचन गरिएको छ । पाल्पा साहित्य समाजले शनिबार तानसेनमा एक कार्यक्रमका बिच कथा संग्रहको विमोचन गरेको हो ।

संग्रहको त्रिभूवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा साहित्यकार टंक भट्टराईले विमोचन गरेका हुन् । विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले पाल्पा साहित्यिक विधामा उर्वर भूमि रहेको बताए । उनले पछिल्लो समयमा पाल्पामा साहित्य क्षेत्रमा नयाँ–नयाँ विधाहरुको उदय हुनुको साथै सर्जकहरु समेत जन्माएको धारणा व्यक्त गरे । प्रकाशित कृतिले नयाँ–नयाँ कुराहरुको खोजी गरेको भट्टराईको भनाई थियो । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पामा धेरै विधाका साहित्यकार, लेखकहरु जन्माएको उल्लेख गर्दै पाल्पा साहित्य समाजले उनीहरुलाई साहित्य क्षेत्रमा लाग्न थप उत्प्रेरित, हौसला प्रदान गर्ने काम गरेको बताए ।

लेखक शालिकराम पाण्डेले कथा विधा भन्न जति सजिलो भए पनि त्यसको मर्मा र भावना पुरा गर्न कठिन रहेको बताए । सामाजिक याथार्थलाई कथामार्फत प्रस्तुत गर्न खोजेको लेखक पाण्डेले उल्लेख गरे । देवकोटा साहित्य प्रतिष्ठानका अध्यक्ष भागवत खनालले पाल्पाको साहित्य क्षेत्रको विकासमा प्रकाशित कृतिले इटा थप्ने काम गरेको बताए । उनले एकिकरण पूर्व पनि पाल्पा साहित्य क्षेत्रमा अग्रहणी जिल्ला रहेको बताउँदै त्यसको शाख अहिले पनि कायमै रहेको बताए । कार्यक्रममा समिक्षक कमल खत्रीले कृतिको समिक्षा गरेका थिए । कृतिको समिक्षा गर्दै समिक्षक खत्रीले कृतिले वर्तमान समाजको याथार्थतालाई कथाको रुपमा चित्रण गरेको बताए । उनले कथा संग्रह पठनीय र मननीय रहेको भन्दै एक पटक सबैले पढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, महिला सर्जक सविता भट्टराई लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, पूर्व अध्यक्ष चित्रवलीराम सुवालको स्वागत, सचिव महेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update