Shittalpati
धर्ना रहर की बाध्यता ?

रमा पन्त

पाल्पा

राजनीतिक घटनाक्रमकै समयमा २०५९ सालमा राजाको प्रत्यक्ष शासन विरुद्धको (निरङ्कुशताको बिरुद्ध, प्रजातन्त्रको रक्षार्थ) आन्दोलनका क्रममा सहभागिता जनाउदाको एक संस्मरण)

राजनीतिक दलहरुबाट रिले अनसनको क्रम चलिरहेको थियो । पहिलो, दोस्रो, तेस्रो, चौथो गर्दै पाँचौ दिनमा महिलालाई पनि अनसनमा पठाउने राजनैतिक दलहरूको सर्बदलिय निर्णय भएछ । त्यसैले नेपाली काँग्रेसका महिलाहरु बस्नु पर्ने दिन आयो । नेपाली काँग्रेसका तत्कालिक पार्टी सभापति राजन प्रसाद पन्त (मेरो श्रीमान) हुनुहुन्थ्यो ।

यसै क्रममा सबै पार्टीबाट ३/३ जना महिलाहरु २४ घण्टे रिले अनसनमा बस्नु पर्ने भयो । नेपाली काँग्रेस पार्टीले ३ जना महिलाहरुको नाम माग्यो । तत्कालिक महिला संघकी सभापति आदरणीय अम्बिका भट्टराई दिदिले तुरुन्तै मिटिङ डाक्न लगाउनु भयो । भोलिपल्ट नै मिटिङ बसियो । त्यस मिटिङमा पहिलो पटक रिले अनसनको लागि ३ जना महिलाहरु को–को जाने भनेर बैठकमा प्रश्न राख्नु भयो तर धेरै जनाबाट कामको बेफुर्सदी देखाइयो ।

अरु पार्टीको नाम आइसकेको थियो । हाम्रो पार्टीबाट नाम पठाउनु पर्ने भएकाले सभापतिज्युबाट को–को जाने अनसनमा भन्ने प्रश्न गर्नु भयो ? “ तर कसैबाट जवाफ नआएकोले फेरि आफ्नो कुरा दोहर्‍याउदै रमाको छोरी बिरामी छ त्यसैले उसलाई यतिबेला पठाउनु ठिक हुँदैन“भन्ने कुरा समेत राख्नु भयो । हुन पनि मेरो छोरी निकै बिरामी थिइन् र छोड्न मिल्ने अवस्था पनि थिएन । कसैले पनि त्यहाँ अनसनमा बस्न जान तैयार छु म जान्छु भनेर भनिएन पनि ।

सायद आजको जस्तो सजिलो परिस्थिति भएको भए धेरै नै निस्कनु हुन्थ्यो होला । त्यहाँ बस्दा बस्दै प्रशासनबाट गिरफ्तारी गर्ने पनि संभाबना थियो । त्यसपछि मलाई अम्बिका दिदीले नै संकेत गर्दै भन्नु भयो ‘के गर्छौ पार्टीको लागि तिम्रो आवश्यक पर्‍यो रमा तिमी जानु पर्छ ’। मैले कुनै प्रतिक्रिया जनाइन् । मेरो श्रीमान पार्टीमा समर्पित हुनु भएको छ म किन सँलग्न हुने भन्ने सोचमा म कहिल्यै थिइन र आज पनि छैन । मैले पार्टीको हेरक कार्यक्रममा सहभागी भएरै काम गर्ने भएर होला अम्बिका दिदिले मेरो छोरी बिरामी भएको देख्दा देख्दै पनि निर्देशन दिन सक्नु भएको । देश र जनताको लागि सधै सबै कुरा त्याग्न सक्नुपर्छ भन्ने संस्कार मैले विवाह पूर्व बाबा, आमा,आफ्नो दाजुहरुबाट र विवाह पश्चात श्रीमान्बाट प्रत्यक्ष देख्दै, सुन्दै र अनुभव गर्दै आएकी थिए । मेरो श्रीमान राजन प्रसाद पन्त नेपाली काँग्रेस पार्टीप्रति समर्पित भई सँधै जस्तो सुकै आन्दोलनमा अग्रपंक्तिमा रहेर काम गरेको, जिल्लामा सायद सबैभन्दा धेरै पटक–पटक गिरफ्तारी र जेलको यातना बेहोरेको, कहिले कम्युनिष्टको आक्रमणमा घाइते भएको त कहिले अनसन र कहिले जेल जीवन बिताएको देखेकी र अनुभव गरिरहेकी थिएँ ।

बिरामी छोरी हेर्ने घरमा कोहि पनि नहुँदा नहुँदै पनि मैले मेरो पार्टी प्रतिको कर्तव्य सम्झेर २४ घण्टा रिले अनसन बस्नको लागि मञ्जुर भए । ५ बर्षकी बिरामी छोरीलाई हेर्ने घरमा ९ बर्षकी ठूली छोरी ऋचा र अर्को ७ बर्षकी रुचि छोरीहरुको जिम्मा लगाएर मैले मेरो घाटीमा फुलमालाले सजिएर परिवार भन्दा पार्टी ठूलो हुन्छ भन्ने मान्यता लिएर तानसेनको शित्तलपार्टीमा नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै रिले अनसन बसेको हिँजो जस्तो लाग्छ । त्यतिबेलाको मेरो परिस्थिति आज कसैले कल्पना गर्न नसक्ने थियो । मैले मेरो परिवार भन्दा पार्टी प्रतिको मेरो दायित्व ठूलो मानेकी थिए ।

त्यतिबेला नेपाली काँग्रेसको प्रतिनिधित्व गर्ने ३ जना महिलाहरु क्रमश: तत्कालिन नेपाल महिला संघकी सभापति आदरणीय अम्बिका भट्टराई म स्वयं रमा पन्त र स्व. गौरा ढकाल थियौँ (हाल नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालको को श्रीमति) । अन्य पार्टीका समेत गरी ९ जना २४ घण्टे रिले अनसनमा बसेका थियौं । त्यो रात तानसेनको शित्तलपाटीमा अनसन बस्दा रातभर निकै ठूलो मुसलधारे पानी परेर कुटिएको सम्झिदा आज कस्तो अचम्म लाग्छ कसरी त्यो रात बितेको थियो शब्दमा लेख्न पनि सक्दिन ।

१. त्यतिबेलादेखि नै पार्टीको लागि त्यसरी मरिमेटेर काम गर्नु गलत थियो त ?

२. त्यो पार्टीको काम थियो कि मेरो ब्यक्तिगत ?

३.त्यतिबेला मैले मेरो परिवारको ख्याल गर्नु पर्ने थियो कि थिएन ?

४. अचम्म लाग्छ हिज पार्टीमा काम गर्दै गर्दा केहि पाउँला भन्ने आशले कुनै दिन सोच्ने, कल्पनासम्म पनि गरिएन न पदका लागि लोभ र लालच नै गरियो ।

५.त्यति बेला त्यसरी परिवार नै बिचल्ली पारेर बस्नु मेरो बाध्यता थियो कि रहर आजसम्म जान्न सकेकी छैन ?

त्यतिबेला फोटो खिच्ने आज जस्तो चलन थिएन । बिरोधमा सहभागिता कसैलाई देखाउन गरिएको पनि थिएन तर ता.न.पा. २ निवास नरेश भट्टराई ज्युसँग फोटो संकलन रहेछ । ज्यादै खुसी लाग्यो उपलब्ध गराउनु भएकोमा । नरेश जिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु फोटो को लागि ।

२०५९ सालमा राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलनका क्रममा धर्नामा पाल्पाली महिला नेतृहरु

तस्वीर: नरेश भट्टराई ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update