Shittalpati
बेमौसमी वर्षाको असर,  लुम्बिनी प्रदेशमा ५ अर्बको अन्नबालीमा क्षति

रामचन्द्र रायमाझी
पाल्पा, बेमौसमी वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५ अर्ब बराबरको अन्नबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ । गत आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै प्रदेशका अधिकांश जिल्लामा धान पाकेर पहेँलो भए पनि केही किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् भने केहीले काटेर खेतबाट उठाउनै भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसानले धान काट्न र उठाउन सुरु गरेका थिए । तर टिकाको दुईदिनपछि परेको अविरल वर्षाले धानसहित अन्नवालीमा ठूलो क्षति गर्‍यो ।

बर्दिया लगायत अन्य जिल्लामा ३६ हजार ४ सय ८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५ सय ७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानमा क्षति पुगेको प्रदेश सरकारले जनाएको छ । उक्त क्षति हुँदा करिव ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नस्ट भएको छ भने बाँकी अन्य अन्नबालीमा समेत क्षति पुगेको छ । विशेषगरी पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान र रोल्पा बढी प्रभावित भएका छन् । ती जिल्लाहरूमा ३ लाख ९ हजार १ सय १० हेक्टर क्षेत्रफलमध्ये १ लाख ३० हजार ५६ हेक्टरको धानबाली क्षतिग्रस्त भएको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको प्रारम्भीक तथ्याड्ढमा छ । पाल्पाको ८ हजार १ सय ९० हेक्टरमध्ये ५ सय ३५ हेक्टरको धानबाली क्षतिग्रस्त छ । यस्तै, गुल्मीको १० हजार २ सय ४६ हेक्टरमा ६ सय ५८ हेक्टरमा क्षति, कपिलवस्तुको ६४ हजार ३ सय ५० हेक्टरमध्ये ३५ हजार ४ सय ६३ हेक्टरमा बाली नष्ट भएको छ । दुख गरेर लगाएको अन्नबाली बेमौसमी वर्षाले क्षति गरेपछि प्रदेशका किसान चिन्तित बनेका छन् । लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी स्याहार्ने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । ‘तीन दिन लगाएर धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ’, गुल्मी इस्माका किसान पदम परियारले भने ।

उनले थपे, ‘यसपटक समयमा नै पानी परेकाले धान रोपाइँ पनि समयमा भएको थियो, धान पनि राम्रो थियो तर अहिले घरमा स्याहार्न लाग्दा पानी परेर ठूलो क्षति भयो ।’ पानीले खेतबारीमा भएको धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्‍याएको किसानले बताएका छन् । पाल्पा माडी खहरेका किसान सूर्य रायमाझीले आफूहरूको मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताए । उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको समेत बताए ।

लुम्बिनी प्रदेश सरकारले भने बाढी पहिरोबाट क्षति भएका किसानका लागि राहत प्याकेज ल्याउने घोषणा गरेको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी बाढी पहिरो पिडितका लागि प्रदेश सरकारको तर्फबाट राहत प्याकेज ल्याउने घोषणा गरेका हुन् । बाढी पहिरोका कारण प्रदेशमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै विज्ञप्तिमा त्यसबाट पिडितहरूका लागि राहत प्याकेज ल्याउने घोषणा गर्दै किसानहरुलाई परेको पीडामा प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ । विज्ञप्तिमा प्रदेशवासीलाई परेको पीडामा प्रदेश सरकारले संघीय र स्थानीयतहको समन्वयमा राहत प्रदान गर्ने घोषणा गरिएको उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update