पाल्पा, राष्ट्रिय सूचना आयोगका पूर्व सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी र पत्रकारहरुलाई आग्रह गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाले आोजना गरेको ‘सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलनमा सूचना अधिकारी र सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बास्कोटाले जनताको सूचनाको अधिकारलाई कसैले पनि कमजोर पार्न नहुने धारणा व्यक्त गरे । उनले भने, “जति गोप्य गर्न खोज्नु हुन्छ, लुकाउन खोज्नु हुन्छ त्यति नै जटिलता हुन जान्छ, त्यसैले पारदर्शीता अपनाउँदै अरुले जान्न पाउने अधिकारको संरक्षण गर्नुहोस् । ”
संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा प्रदत्त गरेकाले कार्यालयका सबै सूचना अधिकारीले नागरिकलाई सानो ठूलो नभनी मागेको सूचना दिन उनले आग्रह गरे । बास्कोटाले पत्रकारले स्वच्छ, निष्पक्ष पत्रकारीता गर्नु धर्म रहेको बताउँदै सबैको सकारात्मक सोच भएमात्र समाज र राष्ट्र बलियो बन्ने वताए । कर्मचारीलाई मुस्कानसहितको सेवा दिनु पर्ने, धनि, गरिब, ठूलो, सानो नभनी समान व्यवहार गर्न आग्रह गर्दै उनले जीवनको घड़ीमा जबसम्म ब्याट्री सकिदैन तबसम्म चलिरहने हुँदा सबैको प्रिय भएर रहनु पर्ने कुरामा जोड दिए ।

बास्कोटोले हरेक नागरिकलाई आफ्नो व्यक्तिगत सरोकार र सार्वजनिक महत्वका सूचना माग्दा पाउने अधिकार भएको स्पष्ट पारे । नागरिकले सूचना नमागे पनि २० वटा विषयको सूचना हरेक सार्वजनिक कार्यालयले स्वतः सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदै उनले सूचना नदिए, लुकाए र स्वतः सार्वजनिक हुनुपर्ने सूचना प्रकाशित नगरेमा सम्बद्ध निकायको प्रमुख र सूचना अधिकारीले कारवाहीको भागीदार बन्नुपर्ने समेत उनले बताए । सूचना जति धेरै प्रवाह गर्न सक्यो नागरिक त्यति नै धेरै शक्तिशाली हुने बास्कोटाको भनाइ थियो । कार्यक्रममा कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीहरुको सहभागिता थियो । प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुंवरको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम सुवेदीको सञ्चालनमा कार्यक्रमको भएको थियो ।



