Shittalpati

विश्व एड्स दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । अंग्रेजी वर्षको प्रत्येक डिसेम्बर एक तारिखका दिन यो दिवस मनाउँदै आइएको हो । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको पाइन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो । एचआईभीसँग जीवन बिताउनेहरुका लागि समर्थन गर्ने र एड्स सम्बन्धी रोगबाट ज्यान गएकाहरुको स्मरण गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ तारिखका दिन नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । एचआईभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै एचआईभी एड्स विरूद्ध गरिएका कार्यक्रम तथा गतिविधिहरुका बारेमा सबै ठाउँमा सूचना पु¥याउनु नै यस दिवसको मुख्य उद्देश्य रहँदै आएको छ ।

हाल विश्वभरि नै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको एचआइभी पीडितहरुको अवस्थामा विगत केही समययता क्रमिकरुपमा सुधार आइरहेको भएपनि एड्सका कयौं पक्षहरुलाई अझै गहिरोरुपमा सम्बोधन गर्न सकिएको छैन । स्वास्थ्य सम्बन्धी सरकारी निकायसँगै मानव स्वास्थ्यका विषयमा काम गर्ने भनिएका सबैजसो एनजीओ, आइएनजीओहरूले कार्यक्रम गरे पनि त्यो प्रभावकारिता देखिदैन । उनीहरुले प्रत्येक वर्ष मोटो रकम यही क्षेत्रमा खन्याएका छन् तर त्यसको उपलब्धि खासै देखिन्न । एचआइभी संक्रमणको अन्तिम अवस्थाको रुपमा लिइने एड्सलाई लिएर देखिने व्यवहार भने अझै पनि अनुकरणीय बन्न सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । नेपालमा बढी मात्रामा वयस्क जनसंख्या एचआईभीको जोखिममा छन् । असुरक्षित यौन सम्पर्क, असावधानी रुपमा सिरिन्जको प्रयोग लगायतका कारणले एचआईभीको जोखिम बढिरहेको छ । यद्यपी नयाँ संक्रमण दर घट्दै जानु खुसीको कुरा हो । तथापी एचआईभी र एड्स बारे समुदायस्तरमा अझै बढी सतर्कता अपनाएर एड्सको महामारी अन्त्य गर्न सके मात्र एड्स दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update