पाल्पा, परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर, आजभोलि सबै हराउँदै गएको छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको हो ।
कोदो खेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले धेरै किसानले कोदो खेती छाड्दै गएको पाइन्छ । यहाँका कृषकहरू कोदो छोडेर अहिले नगदेबाली खुर्सानी, आलु, अदुवा, बेसार र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् । एक दशक अघि साउन–भदौमा कोदो रोप्ने काम धमाधम हुन्थ्यो । बगनासकाली गाउँपालिकाकी नरायणी गाहाले भनिन् , “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।” कोदोबाट भन्दा अदुवा, बेसार, अकबरे, आलु लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि कोदो खेती छोड्दै गएको उनको भनाई छ । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ” गाहाले भनिन्, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले बारीमा कतै अदुवा, कतै बेसार, अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छौ, तर कोदो लगाउँदैनौं ।” रिब्दीकोट गाउँपालिका सिरुखर्काकी शर्मीला थापाको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले पनि छोडेकी छन् ।कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । परम्परागत शैलीमा स्थानीय जातको विउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ वस्तीमा हुन्थ्यो तर आजभोली सबै हराए । उनले कोदो खेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको थापाले बताइन् । बगनासकाली गाउँपालिका खानेगाउँका दीपक पचाभैया पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन् । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट माथागढी, निस्दी, पूर्वखोला, रम्भा, तिनाउ लगायत जिल्लाका अन्य किसानहरुको मुख्य बाली कोदो थियो । युवाहरु विदेश र शहरतिर, गाउँमा बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ ।
यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ । यहाँ आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/०८२ मा आएर २ हजार ३ सय ४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए । उनका अनुसार कृषकहरु सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्दै गएको हो ।
कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । परम्परागत शैलीमा स्थानीय जातको विउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ वस्तीमा हुन्थ्यो तर आजभोली सबै हराए । कोदो हराउँदै गए पनि माग भने बढ्दो रहेको छ । पछिल्लो केही वर्षयता यहाँका होटलहरुमा कोदोका परिकारको माग बढेको तानसेन कैलाशनगरका होटल व्यवसायी दीपक अधिकारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको कार्कीले बताए । बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ छ ।


