Shittalpati
अग्रज दुव्र्यवहार जागरुकता दिवसको सन्दर्भ 

विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस आज नेपालसहित विश्वभर विभिन्न  सचेतना कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १५ मा मनाइने यो दिवस केवल एउटा औपचारिक कार्यक्रम नभई समाजका अग्रजहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो । ज्येष्ठ नागरिकमाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक दुव्र्यवहारप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । 

ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कृतिका जीवित स्रोत हुन् । उनीहरूले आफ्नो जीवनको महत्वपूर्ण समय परिवार, समाज र राष्टू निर्माणमा समर्पित गरेका हुन्छन् । तर विडम्बना, उमेर ढल्कँदै जाँदा धेरै अग्रजहरू उपेक्षा, अपमान, हिंसा र आर्थिक शोषणको सिकार बन्न बाध्य छन् । कतिपय अवस्थामा आफ्नै परिवारभित्रबाट हुने दुव्र्यवहारले उनीहरूको जीवन अझ कष्टकर बनाइरहेको छ । दुव्र्यवहार केवल शारीरिक हिंसामा सीमित छैन । मानसिक यातना, अपमानजनक व्यवहार, सम्पत्तिमाथिको अनुचित नियन्त्रण, स्वास्थ्य सेवाबाट वञ्चित गरिनु तथा सामाजिक रूपमा अलग्याइनु पनि दुव्र्यवहारकै रूप हुन् । आधुनिक जीवनशैली, परिवारको संरचनामा आएको परिवर्तन, वैदेशिक रोजगारी र बढ्दो व्यक्तिवादी सोचका कारण ज्येष्ठ नागरिकहरू झन् असुरक्षित बन्दै गएका छन् । नेपालमा पनि ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै गएको छ । तर उनीहरूको हेरचाह, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनका लागि आवश्यक व्यवस्था अझ पर्याप्त छैन । राज्यले कानुनी संरक्षण र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको छ । परिवार, समुदाय र सरकारी निकायबीच समन्वित प्रयासबिना अग्रज दुव्र्यवहार न्यूनीकरण सम्भव छैन् । ज्येष्ठ नागरिकहरूको अनुभवलाई मूल्याङ्कन गर्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने र सुरक्षित वातावरण प्रदान गर्ने संस्कृतिको विकास गर्न आवश्यक छ । यसो गर्न सकियो भने विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाउनुको सार्थकता रहन्छ । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update