अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो ।
नेपालले पनि सन् १९९३ देखि हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइँदै आएको छ । तर अपाङ्गता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा थुप्रै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सक्रिय भए पनि तिनीहरुले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । ति संस्थाहरुले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन आउन सकेको देखिदैन । नेपाली समाजमा दिनैपिच्छे विभिन्न दिवस मनाउने गरिन्छ । औपचारिक रुपमा दिवस मनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण भइरहेको भ्रम पर्न जान्छ । तर, हाम्रै गाउँसमाजमा अपाङ्ग व्यक्तिहरुको नियति भने बिल्कुलै फरक छ । उनीहरुलाई अझै पनि पारिवारिक बोझका रुपमा तिरस्कार गरिएका र दाम्लो÷सिक्रीले बाँधेर पशुवत् व्यवहार गरिएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । अपाङ्गतासम्बन्धी जेजति गतिविधि भइरहेका छन्, त्यो पर्याप्त छैन । समाजमा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका यावत् समस्या सम्बोधन हुन सकेको छैन । सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि खासै सेवासुविधा प्रदान गर्न सकेको छैन । अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक, सामाजिक तथा शैक्षिक स्थिति पनि अत्यन्त नाजुक अवस्थामा छ । मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण परिवर्तन आए पनि अपाङ्ता भएका व्यक्तिहरुसम्बन्धी विशेष व्यवस्था भने हुन सकेको पाइएको छैन । सरकारी कार्यालय समेत अझैसम्म अपाङ्गमैत्री बन्न नसकेको अवस्था छ । यसर्थ समाजमा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका यावत् समस्या सम्बोधन गर्न सके मात्र हरेक वर्ष मनाइँने दिवसले सार्थकता प्राप्त गर्न सक्छ अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने छ ।

