Shittalpati
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन

पाल्पा, ‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।

तानसेनमा आइतबार एक औपचारिक कार्यक्रमका बीच अविश्रान्त कर्मशील साहित्यकार देवन्द्रराज शाक्य र साहित्यकार कृष्णबहादुर के.सी.द्वारा लिखित ‘शीत’ कृतिको विमोचन गरिएको हो । कृतिको पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले विमोचन गरेका हुन् । कृति विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका सिंहले नेपाली साहित्य क्षेत्रमा नयाँ–नयाँ विधाहरुको जन्म हुनु खुसीको कुरा रहेको बताए । उनले पाल्पामा जन्मेको शीतले चाडै व्यापकता पाउने र नव स्रष्टाहरू जन्माउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार देवन्द्रराज शाक्यद्वारा लिखित एवं संकलित शीत काव्य संग्रह ‘शीत’ को समीक्षा गर्दै साहित्यकार समिक्षक टंक पन्तले संग्रहमा विषयगत, भावगत विविधता समेटिएको बताए । उनले कृति सरल, सहज रहेको समेत धारणा व्यक्त गरे । यस कृति भित्र ६६ जना सर्जकहरूको शीत संग्रहित रहेको छ । यसैगरी साहित्यकार शीत ईश्वर कृष्ण बहादुर केसीद्वारा लिखित एकल शीत संग्रह ‘शीतका थोपा’ कृतिको समीक्षा गर्दै समिक्षक कमल खत्रीले शीत काव्य नयाँ विधा भए पनि अत्यन्त पठनीय र मननिय रहेको बताए । उनले धार्मिक, सांस्कृतिक, जन्मभूमिप्रतिको माया, श्रमको सम्मान, राष्ट्रियता, नारी सम्मान, शान्त जीवन शैली लगायतका विषयवस्तुहरु कृतिमा समावेश गरिएको बताए । कार्यक्रममा कृति प्रकाशकद्वय अग्रज शीत साधक शाक्य र शीत ईश्वर केसीलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको गरिएको थियोे । कार्यक्रममा शीत काव्य समाजका राष्ट्रिय महासचिव दामोदर ढकाल, राष्ट्रिय सदस्य एवं बाग्मती प्रदेशका अध्यक्ष तथा कृतिका लेखक कृष्ण बहादुर केसी, पत्रकार धातानन्द शर्मा गैरे, नारी स्रष्टा रमा पन्त, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई लगायतले कृति सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शीतको जन्म भएको ३ महिनामै दुईवटा कृति विमोचन गर्न पाउँदा शीतले व्यापकता पाउनेमा आफू विश्वस्त रहेको शीतका परिकल्पनाकार एवं शीत काव्य समाज नेपालका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए । शीत काव्य समाज नेपालका राष्ट्रिय कोषाध्यक्ष एवं पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गोविन्द खनालको स्वागत र शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update