Shittalpati
तानसेनमा सामुदायिक मेलमिलाप तालिम

पाल्पा, तानसेनमा आधारभुत सामुदायिक मेलमिलाप तालिम सञ्चालन भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत मंगलबारदेखि मेलमिलाप तालिम सञ्चालन भएको हो ।

तालिमको एक औपचारिक कार्यक्रमका बीच बगनासकाली गाउँपालिकाका अध्यक्ष कुष्ण प्रसाद बस्यालले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्यालले स्थानीय सरकार सवलीकरणका लागि मेलमिलाप तालिम महत्वपूर्ण हुने बताए । उनले समाजमा हुने सानो तिना विवाद समेत बढ्दै गएर ठूलो दुर्घटना हुन सक्ने भएकाले समुदायस्तरबाट मेलमिलाप गर्न सकेमा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि तथा तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठकले तालिम पश्चात् मेलमिलापकर्ताहरुले फाटेको मन सिलाउन सक्ने सिप विकास हुने विश्वास व्यक्त गरिन् । अर्का अतिथि रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष चेत कुमारी थापाले तालिमले सबै वडामा मेलमिलापकर्ता उत्पादन गरी विवाद समाधान गर्न सहयोग पुग्ने बताइन् । कार्यक्रममा बगनासकाली गाउँपालिका –३ का वडाध्यक्ष टिका बहादुर थापा, दिएसिया फाउण्डेशनका प्रदेश फिल्ड कोअर्डिनेटर चुरामणि पोखरेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । तालिम कार्यक्रममा दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुख्य आदर्शबाट निर्देशित भई विवाद र मेलमिलाप सम्बन्धि सैद्धान्तिक पक्षहरु,मेलमिलाप सम्बन्धि कानुनी आधारहरु, मेलमिलापकर्ताको भूमिका,मेलमिलाप सम्बन्धि प्रक्रियागत सिपहरु, मानवअधिकार, व्यक्तिगत तथा बहुसरोकारका विवादहरुका सन्दर्भमा प्रशिक्षण दिइने केन्द्रका कार्यक्रम तथा लेखाअधिकृत रमिला हुमागाईंले बताए । तालिममा बगनासकाली गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका ६५ जना सहभागी रहेका छन् । केन्द्रका अधिकृतहरु मिना सुयल, रमिला हुमागाईं, भोलानाथ धिताल,प्रशिक्षक ठाँकुर चौलागाईं र यम बहादुर जोशीले प्रशिक्षण दिने कार्यक्रम संयोजक अम्बिका बस्यालले बताइन् । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक सरस्वती चिदीको अध्यक्षता, केन्द्रका जिल्ला संयोजक अम्बिका बस्यालको सञ्चालनमा उद्घाटनसत्र कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update