Shittalpati
बगनासकालीमा बाल वक्तृत्वकला

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा बाल वक्तृत्वकला प्रतियोगिता भएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा वक्तृत्वकता प्रतियोगिता भएको हो ।

प्रतियोगितामा प्रतिक्षा गैरे प्रथम, सुप्रिया बस्याल द्वितीय र दिनेश सारु तृतीय भएका छन् । प्रतियोगितामा ६ वडाका बालसमन्वय समितिबाट प्रतिनिधित्व रहेको थियो । प्रथम, द्वितीय र तृतीय प्रतियोगिलाई नगद, प्रमाण पत्रसहित पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाका बालमैत्री फोकल पर्सन एवं शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताए । शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका सदस्य सचिव माधव अर्याल र गाउँपालिकाका एम.आइ.एस. भोजराज भट्टराईले निर्णयक मण्डलको भूमिका खेलेका थिए । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बालमैत्री दिगोपना सुनिश्चितताको लागि गाउँपालिकाले प्राप्त सुझावलाई अक्षरांस पालना गरेर अगाडि बढेको बताए ।

उनले बालमैत्री गाउँपालिका घोषणा भइसकेको अवस्थामा कार्यान्वय पक्षलाई प्रभावकारी बनाउने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको जानकारी दिए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले सहभागी बालबालिकालाई शुभकामना दिदै बालबालिकाको क्षमता, अभिवृद्धि र सशक्तिकरणको लागि सचेतनाका कार्यक्रमलाई नियमितता दिइने बताइन् । बगनासकाली गाउँपालिकास्तरीय बालसञ्जालका अध्यक्ष इन्दु गाहाको अध्यक्षता, बालमैत्री फोकल पर्सन गुनाराम खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update