Shittalpati
अवरोधकाबीच लोकसेवा विधेयक पारित


पाल्पा, राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच विधेयक पारित भएको छ । राष्ट्रिय सभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोध हुँदाहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे ।

सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरु देखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए । २०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको छ । अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएको संदेशसहित प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणिकरण भएपछि कानुन बनेर कार्यान्वयनमा जाने छ । संघ र प्रदेशमा लोकसेवा आयोग हुने संवैधानिक व्यवस्था छ । पारित विधेयकमा संघ र प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार लगायतका विषय समेटिएको छ । यो विधेयक कानुन बनेर कार्यान्वयनमा गएपछि प्रदेश लोकसेवा आयोगले पनि विज्ञापन लगायत कार्य गर्न पाउनेछ । राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update