Shittalpati
५० वर्षको उमेरमा घरमै नागरिकता  !

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको मुसिकोट नगरपालिका –३ की गोमा थापाले ५० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि थापाले ५० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् । मानसिक सन्तुलन गुमाएकी उनलाई । घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको हो ।
मानसिक सन्तुलन गुमाएकी र गोठमा काम गर्दै गर्दा लडेपछि घाइते भई उपचार नपाएर विगत १० वर्षदेखी अपाङ्ग जीवन बिताइरहेकी थापालाई बुबा ज्ञानबहादुर थापाको नामबाट नागरिकता प्रदान गरिएको छ । ५० वर्षका उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उनी र आफन्त खुशी भएका छन् । मानसिक अवस्था कमजोर र त्यसैमाथि अपाङ्ग भई दुवै खुट्टा र हात टेकेर मात्र हिड्न सक्ने थापा मुसिकोट नगरपालिका ३ मा दिदीसँग बस्दै आएकी छन् । ५० वर्षमा भएपनि नागरिकता पाएकोमा हर्षित भएको उनकी दिदी टिका कुमारी घिमिरेले बताइन् । दिदि घिमिरे प्रमुख जिल्ला अधिकारी सहितको समूह घरमा आएर नागरिकता दिने कुरा आफ्नो कल्पना बाहिरको कुरा भएको भन्दै खुसीले गदगद् भएकी थिइन् ।
नागरिकता प्राप्त गरेकी गोमाका भतिज कमल घिमिरे आफुहरु प्राय घरमा नहुँने अनि त्यसैमाथि सानिमा अशक्त भएकाले नागरिकता बनाउन जान नसकेको भन्दै नागरिकता घरमा आएर उपलब्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी शर्मा र नगरपालिकाका प्रमुख सोमनाथ सापकोटालाई विशेष धन्यवाद दिए । प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासनसम्म पुग्ने अवस्था उनको नभएको कारण घरमै पुगेर नागरिकता प्रदान गरेको र अब सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित नहुने बताइन् ।
प्रमुख जिल्ला अधिकारी शर्माले वडामा यस्ता अन्य ब्यक्ति भएमा वडा र पालिकाको समन्वयमा आफुलाई खबर गर्न आग्रह गरेकी छन् । नागरिकता हस्तान्तरण गर्न प्रमुख जिल्ला अधिकारी शर्मा, मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टाई, सशस्त्र प्रहरी प्रमुख अशोक लम्साल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख, नेपाल पत्रकार महासंघ गुल्मीका प्रमुख टोपलाल अर्याल लगायतको समूह उनको घरमा पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान नै सुरु गरेको छ । अपाङ्गता भएका व्यक्ति नागरिकताबाट बञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसुन् भनेर अभियानको थालनी गरिएको प्रजिअ शर्माको भनाई छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर यो अभियानलाई निरन्तरता दिने जनाएको छ । उमेर पुगेर पनि नागरिकता नबनाएका अपा·ता भएका व्यक्तिको लगत स्थानीय तहबाट लिने र त्यसको आधारमा नागरिकता वितरण गरिने छ ।

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update