Shittalpati
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै  !

रामचन्द्र रायमाझी
पाल्पा, कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो ।


बुधबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैंठकले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालय सञ्चालन गर्ने जिम्मा सम्बन्धित स्थानीय सरकारलाई नै दिएपछि यहाँका विद्यालयहरु खुल्न थालेका हुन् । जिल्लाका अधिकांस स्थानीय सरकारले कोरोना संक्रमणको अवस्थालाई हेरी भौतिक उपस्थितिमा नै विद्यालय खोल्न थालेका छन् । जिल्लाको रम्भा गाउँपालिकाले आजदेखि विद्यालय सञ्चालन गर्न लागेको छ । गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको अवस्था सहज बन्दै गएकाले दुईवर्ष यता विद्यालय सञ्चालन नहुँदा बालबालिकामा मनोवैज्ञानिक असर समेत परेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय र स्मार्ट लकडाउनको कार्ययोजना अनुसार विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए । माथागढी गाउपालिकाले पनि सोमबारदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदौ २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । पालिका भित्र सक्रिय संक्रमितको सख्या घट्दै गएकाले स्मार्ट लकडाउनको अवधारणा अनुसार २८ गतेदेखि विद्यालय सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले कोभिड १९ बाट बच्न सुरक्षा तथा स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा पालना गरी कोरोना लक्षण देखिएका वा अन्य स्वास्थ्य समस्या भएका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई भने विद्यालयमा उपस्थित नगराउने बताए । तानसेन नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरु असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी थालेको छ । सरोकारवालाहरुसँगको छलफलपछि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न थालिएको नगर शिक्षा अधिकृत रेशमलाल न्यौपानेले बताए । स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने र यदि कुनै विद्यालयले स्वास्थ्य मापदण्डको पालना नगरेमा कारवाही समेत गरिने न्यौपानेले बताए । उता रामपुर नगरपालिकाले आजदेखि विद्यालय सञ्चालन गर्न थालेको छ । कोरोना संक्रमणको दर न्यून रहेकाले उच्च सर्तकताका साथ विद्यालय सञ्चालन गर्न थालिएको प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताए । बगनासकाली गाउँपालिकाले पनि स्वास्थ्यका मापदण्ड पालना गरी आइतबारदेखि नै विद्यालय सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गरी नियमित रुपमा कक्षा सञ्चालन गरिने अध्यक्ष बस्यालले बताए । रैनादेवी छहरा गाउँपालिकाले पनि सोमबारदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ । जिल्लाका पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकाले पनि छिट्टै नै विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको दर न्यून भएकाले स्थानीय तहले स्वास्थ्य मापदण्डको पालना गरी खोल्न सक्ने निर्णय गरेसँगै विद्यालय खोलिन थालेको हो । जिल्लामा अझै पनि दैनिक संक्रमित थपिने गरेका छन् । बालबालिकाहरू संवेदनशील उमेर समूहमै पर्ने भएकाले पनि संक्रमणको जोखिम भने कायमै छ । विद्यालय खुले पनि स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ गरिदाँ जोखिम रहने देखिन्छ । अहिले को अवस्थामा विद्यालय सञ्चालन गरिनु चुनौतीपूर्ण रहने जिल्लाका सरोकारवालाहरु बताउँछन् । उनीहरु भन्छन् ‘विद्यालय भनेको भीडभाड हुने स्थान हो । त्यहाँ दुई/तीन सय विद्यार्थी पनि हुन्छन्, ठूला कक्षाका विद्यार्थीले सावधानी अपनाए पनि साना नानीबाबु एकसाथ खेल्ने गर्छन् ।


यसले एक जनामा संक्रमण भए विद्यालयभरि र घर–घर पुग्ने जोखिम पनि हुन्छ ।’ विद्यालयमा कडा सावधानी अपनाउन सके मात्रै संक्रमणबाट जोगिन सकिने सरोकारवालाहरु बताउँछन् । कोरोना महामारीका कारण गत वैशाखदेखि विद्यालय भौतिक रूपमा सञ्चालनमा आउन सकेका थिएनन् । विद्यालयका शिक्षक तथा कर्मचारीहरुले खोप लगाएको भएता पनि विद्यार्थीहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै अभिभावकहरु भने अझै पनि बालबालिका ढुक्कले विद्यालय पठाउन सक्ने अवस्था छैनन् । कोरोना संक्रमण बढ्दै गएपछि गत बैशाखदेखि देशभरका विद्यालय बन्द रहेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update