Shittalpati
हरितालिका तिज पर्व सुरु, आज दर खाने दिन

पाल्पा, हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज बुधबारबाट सुरु भएको छ । तिजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण कायमै रहेकाले यो वर्ष पनि तिजको खासै रौनक भने छैन । घरमै बसेर दिदीबहिनीले यो पर्व मनाउँदै छन् । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तिज मनाउने गरिन्छ । मीठा परिकारका साथ दर खाने गरिन्छ । हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएको छ । दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरिन्छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन चलेको हो । दरखाने समय र स्थान भने ठाउँअनुसार फरक(फरक छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्त कहाँ दरखान जाने चलन भए पनि यो वर्ष कोरोना संक्रमणका कारण असहज भएको छ । देशैभर कोराना संक्रमणको दर उच्च रूपमा बढ्दा सरकारले चाडपर्व मनाउँदा भीडभाड नगरी घरमै सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । यस्तै कोरोना संक्रमणसँगै देशैभरिका मठमन्दिर लामो समयदेखि बन्द छन् । धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ । भारतका कुनै(कुनै प्रान्तमा समेत तीज मनाउने प्रचलन छ । तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषि पञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुुरु भएको छ । तिज पर्वलाई नेपाली नारी दिवसको रुपमा सदियौ देखि मनाउन थालिएको हो । तर आज भोली तिज पर्व मौलिक संस्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ । उत्ताउला गीत संगित सहितको महंगा-महंगा पहिहन र गरगहनाको प्रदर्शन बन्दै गएको छ  ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update