Shittalpati
तीन दिनदेखि बालक सम्पर्कविहीन

तम्घास , गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । दोहोलीका मनबहादुर घर्तीका छोरा विष्णु घर्ती गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरबाट साथीसँग खेल्न निस्किएका र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुर घर्तीले बताए ।

उनले गाउँलेले सबै आफन्त र सम्भावित ठाउँमा छोरालाई खोजे पनि फेला नपरेको बताउँदै परिवारले सोमबार इस्मा प्रहरी चौकीमा बालक हराएका बारेमा जानकारी गराएका छन् । विष्णुले सुन्तलादेवि निम्न माध्यमिक विद्यालय, नयाँ पोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए । गहुँगोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल लगाएको परिवारले जनाएको छ । तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ । इस्मा प्रहरीचौकी इञ्चार्च प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएकाले खोजी कार्य भइरहेको जानकारी दिए । –रासस

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update