Shittalpati
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो

गुल्मी,  जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतनासँगै स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो । नेपाल स्काउट लुम्बिनी संघ तदर्थ समितिको सहयोग र जिल्ला ट्राफिक कार्यालय गुल्मीको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम भएको हो । सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि विभिन्न चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारणलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिइएको थियो ।

सचेतना कार्यक्रम जिल्लाको सदरमुकाम तम्घास, इन्द्रेगौडा, श्रृङ्गा, छल्दी, पूर्कोटदहमा सञ्चालन गरिएको हो । तम्घासमा एक औपचारिक कार्यक्रमका बीच सचेतना कार्यक्रमको समापन गरिएको छ ।

समापन कार्यक्रममा रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले दुर्घटना न्यूनीकरण गर्न सबैपक्ष जिम्मेबार बन्नु पर्ने बताए । उनले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न र कोरोना महामारीबाट बच्न माक्सको अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरे ।

दुर्घटना न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । जिल्लामा विभिन्न ठाउँमा गरिएको सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । सेतना मूलक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्य ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । उनले दुर्घटना न्यूनिकरण गर्नको निम्ती सवारी धनीदेखि चालक, यात्रु सबै पक्ष सचेत हुनपर्नेमा जोड दिए । सबैपक्षको सहयोगले मात्रै दुर्घटना न्यूनिकरण गर्न सकिने आचार्यले बताए । जिल्लाका बिभिन्न ठाउँमा गरिएको सचेतना मुलक कार्यक्रममा नेपाल स्काउटका प्रतिनिधीहरु, जिल्ला ट्राफिक कार्यालयका प्रहरी लगायतले दुर्घटना न्यूनीकरण, कानुनी अवस्था र पछिल्लो समय फैलिरहेको कोरोना महामारीको बारेमा जानकारी गराएको नेपाल स्काउट रेसुङ्गा नगरपालीका संयोजक सुरेश भण्डारीले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update