Shittalpati
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग

गुल्मी, नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।

युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डे, आधिकारिक ट्रेड युनियनका संस्थापक अध्यक्ष जयश्वर पन्थी लगायतको टोलीले कैदीबन्दीहरुका लागि सहयोग सामान कारागारका निमित्त कार्यालय प्रमुख ढालेन्द्र पुनलाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि आधिकारिक ट्रेड युनियनका संस्थापक अध्यक्ष पन्थीले युनियनमा आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई जनताको सेवामा सधै कटिवद्ध र निष्पक्ष भएर लाग्न आग्रह गरे । मुस्कान सहितको सेवा सहित आफ्नो पेशागत हकहितको लागि संगठन विस्तारमा कर्मचारी लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख अतिथि पन्थीले युनियनमा आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई सुशासन कायम गरि अगाडि बढ्न आग्रह गरे । दिनानुदिन कोभिड–१९ को संक्रमण बढ्दै गएकाले विगतमा जस्तो भव्य कार्यक्रम गर्न नगरिएको युनियनका अध्यक्ष पाण्डेले भनाई थियो । उनले विगतका वर्षहरुमा युनियनको स्थापना दिवसको अवसरमा जिल्लाभरिका युनियनमा आवद्ध सबै निजामती कर्मचारी साथीहरूलाई सहभागी गरेर भव्य कार्यक्रमको आयोजना गरिदै आएकोमा यस वर्ष कोरोनाका कारण त्यसो गर्न नसकिएको उल्लेख गरे । युनियनले शिक्षा, स्वास्थ्य, बाढी–पहिरो पीडित लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताइएको छ । कार्यक्रममा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर अधिकारी, नेपाल कर्मचारी युनियनका रेसुङ्गा नगरपालिका अध्यक्ष बालुराम खनाल लगायत युनियनमा आबद्ध कर्मचारीको उल्लेखनीय सहभागीता रहेको थियो । सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन युनियनका जिल्ला कोषाध्यक्ष सञ्जिव पन्थीले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update