Shittalpati
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग

पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट), कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।

सञ्चालनमा आएका कतिपय उद्योगहरु कोभिडका कारण बन्द भएको र केही बन्द हुने अवस्थामा पुगेका बेला यहाँका युवाहरुले संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याएका छन् । स्वदेशमै केही गर्ने अठोटका साथ उनीहरुले जोखिम मोलैर उद्योग सञ्चालनमा ल्याइएको बताउँछन् । यहाँ ६ महिना अघिदेखि उद्योग सञ्चालनमा आएको हो । उद्योगमा अहिले १० किसिमका चप्पलहरु उत्पादन हुने गरेका छन् । कच्चापदार्थ कमसल परेका कारण चप्पलको उत्पादन राम्रो हुन नसक्दा सुरुका दिनमा उद्योग मन्द गतिमा अगाडि बढे पनि अहिले भने कच्चापदार्थ राम्रो पाइनथालेपछि चप्पल उत्पादन कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

स्थानीय सहकारी संस्थाबाट महंगो ब्याजदरमा ऋण लिएर उद्योग सञ्चालनमा ल्याइएको व्यवसायी बुद्धि घर्तीले बताए । स्थानीय उत्पादनको सही प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र रोजगार प्रदान गर्ने गरी उद्योग खोलिएको घर्तीको भनाई छ । उनी भन्छन्,‘दुई वर्षदेखि कोरोना महामारीले सबै उद्योग व्यवसायीहरु धरासयी भएका बेला हामी जोखिम मोलेर अठोटका साथ लागेका छौं, हेरौ कहाँसम्म सफल भइन्छ ।’ उद्योग व्यवसायीहरुबाटै नै गाउँको आर्थिक समृद्धि हुने भएकाले यस तर्फ स्थानीय सरकार र सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने घर्ति बताउँछन् । अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको उनको गुनासो छ । उद्योगी घर्ती लामो समय विदेश बसेर स्वदेश फर्किएका हुन् । स्वदेशमै केही गर्ने सपना बोकेर गाउँ फर्किएको उनी बताउँछन् । गाउँ फर्किएपछि यसअघि यहाँ सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएकाले त्यसलाई रोक्न चप्पल उद्योग सञ्चालनमा ल्याएको उनको भनाई छ  ।

उद्योगलाई थप विस्तार गरिदै लगिने अर्का सञ्चालक विक्रम श्रीस मगर बताउँछन् । उनी भन्छन्,‘माग अनुसार उत्पादन र बजार विस्तार गर्ने योजना बनाएका छौं ।’ यहाँको उत्पादन अहिले स्थानीय बजारमा मात्र सिमित छ । यसलाई आगामी दिनमा छिमेकी जिल्ला पर्वत, स्याङ्जा, बागलुङ्गसम्म बिक्रीका लागि पठाउने योजना रहेको सञ्चालकहरुको भनाई छ । उद्योग सञ्चालनमा धेरै चुनौती रहेको उनीहरु बताउँछन् । स्थानीय घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई स्थानीय, प्रदेश र सम्बन्धित निकायले चासो दिएको खण्डमा सञ्चालित उद्योगहरु बन्द गर्नु पर्ने अवस्था नआउने उद्योग सञ्चालकहरुको भनाई छ । यहाँ भैरहवाबाट कच्चा पदार्थ ल्याइने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update