Shittalpati
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा

कृष्ण पोखरेल
पाल्पा, कोरोना महामारीका जोखिमका बीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।

तत्कालीन नेपाली सेनाले अंग्रेजलाई युद्धमा पराजित गरेको सम्झनामा हरेक वर्ष विजयोत्सव मनाउने गरिन्छ । गत वर्षदेखि भने कोरोनाका कारण औपचारिकतामा मात्र भगवती जात्रा निकाल्ने गरिएको छ । यस पनि नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको दुई सय तीन औं पाल्पाको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमै मनाईएको छ । कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा र इतिहास नटुटोस भनी मंगलबार मन्दिर परिसरमै विजोयत्सव भगवतीजात्रा निकालेको हो । गत बर्षदेखी कोभिड १९ का कारण सिमित व्यक्तिहरुको सहभागितामा परम्परा, इतिहास जोगाउन मन्दिर परिसर भित्रै भगवती विजय उत्सव गरिएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए । विजयोत्सवको मुर्ति मंगलवार साढे १२ बजे निकालिएको थियो ।

वि.स. १८७१ देखी १८७२ सम्मको अंग्रेज सँंगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखी यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो । लडाईमा जानु अघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताका साथ भगवतीको सिंधुरजात्रा गर्ने भाकल अनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमी दिन विजयोउत्सव मनाउने परम्परा रहँदै आएको संस्कृतीविद निर्मल श्रेष्ठले बताए ।

 

गत बर्ष पनि कोभिड १९ सक्रमणको कारण रथजात्रा नगरी भगवतीको मुर्ति मात्र मन्दिर वरीपरी घुमाईएको थियो । पाल्पालीहरुले भगवतीजात्रा लाई ठूलो उत्सवको रुपमा मनाउदै आएका छन् । राष्ट्रियत महत्वको ऐतिहासिक भगवतीजात्राको दिन लुम्विनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा दिएको छ । यस पटक नेपाली सेनाले दरवार परिसरमा हालै निर्माण गरेको निशान भगवती मन्दिरमा भगवतीको विजयोत्सव मुर्ति ३ पटक परिक्रमा गराईएको थियो । साढे १२ बजेको साईतमा विजयोत्सवको मुर्ति मन्दिर बाहिर निकाली ३ पटक भगवती मन्दिरको परिक्रमा गरी निशान, नेपाली सेना, प्रहरीबाट सलामी दिएर निशान भगवती मन्दिरमा परिक्रमा गराईएको थियो । कोभिड भन्दा पहिले भगवतीको विजय रथ तानसेन नगर परिक्रमा गरी साझ ६ बजेसम्म विर्सजन गर्ने परम्परा रहेको थियो । गत बर्षदेखी पाल्पामा मनाईने सबै किसिमका जात्राहरु मन्दिर तथा घर घरमा सिमित रहे । कोभिडको कारण कला, संस्कृती लोप हुने होकि भन्ने चिन्ता पाल्पालीहरुमा परेको शिक्षाविद बुद्धिप्रसाद शर्माले बताए । पाल्पामा श्रावण महिनादेखी भाद्र महिनासम्म विभिन्न किसिमका जात्रा निकाल्ने परम्परा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update