
नवलपरासी, पश्चिम नवलपरासीमा बाबुछोरा मृत भेटिएका छन् । बाढीका कारण घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका हुन् । नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३७ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी खेतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
घरभित्र पानी पसेपछि छिमेकीको घरमा बस्न हिँडेका उनीहरु शनिवार खेतको गह्रामा मृत फेला परेका थिए । प्रहरीका अनुसार बाढीले बगाउँदा सुनवल नगरपालिका–४ की १३ वर्षीय एलिसा तामाङ बेपत्ता भएकी छन् ।
सदरमुकाम परासी, सुनवल, प्रतापपुर र सुस्तामा सात सयभन्दा बढी घर डुबानमा परेका छन् । लगातार आएको वर्षाको कारण त्यहाँ बाढी आएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल, बर्दघाट र गैंडाकोटमा डाइभर्सन बगाउँदा यातायात बन्द रहेको छ ।