Shittalpati
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ २५ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।

एक महिना अघि देखि खुकुलो बनाउदै लगिएको निषेधाज्ञामा यस अघिका निर्णयहरुलाई नै यथावत राखिएको छ । भीडभाड गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सभा सम्मेलन गर्न, तालिम सेमिनार गर्न, धार्मिक कार्यक्रम गर्न बन्देज गरिएको छ । कार्यालय,बैंक तथा वित्तिय संस्था कार्यालय समयमा सञ्चालन हुने छन् भने पसल व्यवसायहरु विहान ७ देखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । जिल्लामा कोरोनाको दर नघटेका कारण भीडभाड हुने क्षेत्रको गतिविधि निषेध गरिएको जनाइएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ । यस्तै होटल तथा रेष्टुरेण्डहरु विहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ । यहाँ गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिसहरुको चहलपहल बढ्दै गएको छ । जारी निषेधाज्ञा भोली मध्यरातिदेखि सकिदै छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update