Shittalpati
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।

पाठ्यक्रमले विद्यार्थीले हासिल गरेका अनुभवहरुलाई व्यवहार उपयोगी बनाउन मार्ग निर्देश गर्ने भएकाले पहिले शिक्षकहरुलाई यस विषयमा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाभित्रका ४५ नीजि तथा सार्वजनिक विद्यालयका प्रावि तहका शिक्षकहरु सहभागी भएका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम पछि शिक्षक शिक्षिकालाई शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने बताए । शिक्षकहरु तालिम प्राप्त हुँदा विद्यार्थीहरुको अध्ययन र अभ्यासमा समेत थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले एकीकृत पाठ्यक्रमले शिक्षकलाई विद्यालयमा पठन–पाठन गराउन सहज भएको बताए । गाउँपालिकाका शिक्षा शाखाका प्रमुख गजेन्द्र पन्थीले शिक्षा विकास तथा समन्वय इकाइको सहयोगमा गाउँपालिका भित्रका प्राविका शिक्षकलाई दुई चरणमा तालिम गर्ने बताए । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा ४ का वडा अध्यक्ष मधु पराजुली, शिक्षा सह–संयोजक अशेष भट्टराई लगायतको उपस्थिती रहेको थियो । दुई दिनसम्म सञ्चालित कार्यक्रम किसान माविका शिक्षक श्याम बहादुर ढेगाँ र जनप्रिय प्राविका शिक्षक मेनुका थापाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update