Shittalpati
मौसममा सुधार हुन केही दिन लाग्ने

काठमाडौं, मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । ‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो । –रासस

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update