Shittalpati
गुल्मीमा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा खत्री

पाल्पा, गुल्मीमा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले गुल्मीमा पनि प्रतिष्ठान गठन गरेको हो ।

भेलाले साहित्यकार तथा प्राध्यापक मनबहादुर खत्री मनुको अध्यक्षतामा ११ सदस्यीय प्रतिष्ठान गुल्मी गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण रिजाल,सचिवमा राम प्रसाद पन्थी,कोषाध्यक्षमा सरु सुधा र सह–सचिवमा मनु सुनार रहेका छन् । सदस्यहरुमा खेमराज अर्याल, भागिरथ भण्डारी,लक्ष्मी खनाल, श्यामलाल गौतम, विष्णु कुँवर र मञ्जु राना रहेको जनाइएको छ । त्यस्तै भेलाले सल्लाहकारहरुमा साहित्यकारहरु शसी पन्थी, दिन पन्थी र मित्र प्रसाद गौतमलाई चयन गरेको छ ।

नवगठित प्रतिष्ठानका अध्यक्ष खत्रीले भेलाले आफुलाई जिल्लाको अध्यक्ष जस्तो गरिमामय पदमा चयन गरेकोमा कृतज्ञता ज्ञापन गर्दै कुसलतापूर्व जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले एनजेडीसँगको कुराकानीमा नेपाली साहित्यको विकासको लागि आफुले निरन्तर कार्य गरिरहेको र आगामी दिनमा पनि प्रतिष्ठानमा रहेर इमान्दारीपूर्वक कार्य गर्ने बताए । जिल्लाको समग्र साहित्यिक विकास, अग्रज स्रष्टाहरुको सम्मान तथा नवसर्जकलाई प्रोत्साहन गर्नुका साथै विभिन्न साहित्यिक गतिविधिहरुलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् । खत्री प्रतिष्ठान लुम्बिनीका सचिव समेत हुन ।

सोही अवसरमा भेलाले गुल्मी सहित लुम्बिनी प्रदेशका ८ जिल्लामा समेत प्रतिष्ठान गठन गरेको छ । भेलाले बर्दिया, प्युठान, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र दाङ जिल्लामा समिति गठन गरेको हो । भेलाले दाङको अध्यक्षमा डा.कृष्णराज डी.सी, पाल्पामा रमा पन्त, प्युठानमा माधव पोख्रेल, बर्दियामा शंकर प्रसाद आचार्य,रूपन्देहीमा सरु ज्ञवाली, कपिलवस्तुमा शकुन्तला पौडेल, नवलपरासीमा दिपक बराललाई चयन गरेको छ ।

भेलामा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले जिल्लाका सबै नवगठित सदस्यहरुलाई बधाइ दिदै नेपाली भाषा साहित्यको समग्र विकासका लागि नेपाली भाषाको आधार भूमि नेपालदेखि नेपाली साहित्य मार्फत विश्वव्यापी नेतृत्व गर्ने जमर्को गरेको बताए । लुम्बिनी प्रदेशका सल्लाहकार डा. नारायण पन्थले अभियानले नेपाली भाषा साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव शिव खनालले नेपाली साहित्य भाषाको विकासमा ध्यान दिन सबै प्रतिष्ठानलाई आग्रह गरे । प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालको अध्यक्षता,सचिव मनबहादुर खत्रीको स्वागत, महासचिव तेज प्रसाद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update