Shittalpati
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।

थपिएको निषेधाज्ञामा यस अघिका निर्णयहरुलाई नै यथावत राखिएको छ । यस अघिको व्यवसायहरु विहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय यथावत राखिएको छ । यस्तै बैठकले अन्य सार्वजनिक सवारी साधनहरु समेत सञ्चालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ । यस्तै होटल तथा रेष्टुरेण्डहरु विहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जात्रा, महोत्सव, सभा, सम्मेलन, गोष्ठी, विवाह, ब्रतबन्ध, तथा अन्य धार्मिक, सामाजिक कार्यमा भीडभाड गर्न रोक लगाइएको छ । आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ । यहाँ गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ । जारी निषेधाज्ञा आज मध्यरातिदेखि सकिदै छ ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update