Shittalpati
पाल्पामा पनि पञ्चदान पर्व मनाइयो

पाल्पा,बौद्ध धर्मवलम्बी नेवार समुदायमा प्रचलित संस्कृति ‘पञ्चदान’ पर्व पाल्पामा पनि मनाइएको छ । सोमबार दान दिने र लिने गरेर जिल्लाका बौद्ध धर्मवलम्बी नेवार समुदायका बज्राचार्य र शाक्यहरुले यो पर्व मनाएका हुन् ।

उनीहरुले तानसेनस्थित टक्सारको नाथेश्वर मन्दिर, श्री सात सूर्यविनायक गणेश मन्दिर, बटुक भैरव मन्दिर, हनुमान मन्दिर, महाचैत्य विहार लगायतका मठ, मन्दिर र विहारको प्रांगणमा पुगेर पञ्चदान पर्व मनाएका छन् ।

सो अवसरमा विभिन्न विहारका सदस्य बज्राचार्य तथा शाक्यहरु घर तथा विहारमा गइ श्लोक वाचन गर्दै दान ग्रहण गर्ने परम्परा छ । धान, चामल, गहुँ, नुन केराउ, खीर, फलफुल लगायत दान गर्दा विहार, घरआँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौवा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ । दिपंकर बुद्धले यस दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास छ । यल पञ्चदान पर्व सत्ययुगमा दीपंकर बुद्धलाई पहिलो पटक पञ्चदान गरेको सम्झनामा हरेक वर्ष नेपालका विभिन्न जिल्लामा बौद्ध धर्मावलम्बीहरुले यो पर्व मनाउँदै आएका हुन् । यो नेपालको इतिहासमा निक्कै पुरानो मौलिक संस्कृतिका रुपमा रहेको छ ।

तानसेनमा सिद्धार्थ सन्हा गुठीले १९८६ देखि नै निरन्तर रुपमा पञ्चदान कार्यक्रम गर्दै आएको संस्कृतिका जानकार लालकाजी शाक्यले बताए । कोरोना महामारीका कारण यस वर्ष न्यून संख्यामा यो पर्व मनाइएको उनले जानकारी दिए । शाक्यका अनुसार यस वर्ष आजु, थापा आजु, गुभाजु र गुठीयारका भाइहरुलाई मात्र दान प्रदान गरिएको थियो । गुठियार बाहेकका अन्य दाताहरु पनि दान गर्न मन्दिर पुगेका थिए । हरेक वर्ष श्रावण शुक्लपक्ष अष्टमीका दिन ‘यल’ पञ्चदान पर्व मनाउने गरिन्छ । पञ्चदानमा धान, चामल, नुन, गेडागुडी, मकै दक्षिणा पैसा आदि दानको रुपमा प्रदान गरिन्छ । तानसेन लगायत काठमाडौं, भक्तपुर,पोखरा र नेवार समुदायको बाहुल्य भएको अन्य ठाउँहरुमा यो पर्व मनाइन्छ ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update