Shittalpati
पाल्पामा सञ्चारिका समूह गठन

पाल्पा, पाल्पामा सञ्चारिका समूह गठन भएको छ । जिल्लामा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।

शनिबार तानसेनमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले १५ सदस्यी समूह गठन गरेको छ । जसको अध्यक्षमा विन्दु थापा,उपाध्यक्षमा रमा भण्डारी,महासचिवमा सीता डोटेल, सचिवमा सविना थापा मगर, कोषाध्यक्षमा जमूना पाण्डे रहेका छन् । समूहको सदस्यमा अनु खनाल, सरस्वती दंगाल, सीमा भट्टराई, अञ्जु पाण्डे, बन्दना पोखरेल, मिना कुमाल, सुमित्रा कंडेल, कल्पना भट्टराई, रिता पचभैया र शर्मिला थापा रहेको नवनिर्वाचित सचिव सविना थापा मगरले बताईन् । नव गठित समूहले छिट्टै नै प्रक्रियागत रुपमा काम थाल्ने र महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृिद्धका कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ । पाल्पामा पहिलो पटक सञ्चारिका समूह गठन गरिएको हो ।

कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोलले नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै अवसर पाएमा महिला सञ्चारकर्मीहरुले पनि नेतृत्व लिन सक्ने बताईन ।

उनले अधिकार प्राप्तिका लागि महिला पत्रकार एकजुट हुन आग्रह गरिन । सम्बन्धित सञ्चार माध्यमका व्यवस्थापकले समाचार लेख्न चाहने महिला सञ्चारकर्मीलाई तालिम सहित अवसर दिनुपर्नेमा महासचिव अनमोलले जोड दिइन् । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले पर्याप्त मात्रमा महिला सञ्चारकर्मीहरुका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरु नहुँदा उनीहरु सधै पछाडी पर्नु परेको बताए । नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले पत्रकारिता क्षेत्रमा महिला सञ्चारकर्मीहरुको पनि आकर्षण बढ्दै गएको बताए । उनले पत्रकारिता क्षेत्रबाट नै समाज र राष्ट्र रुपान्तरण गर्न सकिने भन्दै सत्य तथ्य पत्रकारिता गर्न महिला सञ्चारकर्मीहरुलाई आग्रह गरे । स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव जीवलाल सुवेदीले जनतालाई सु–सुचित बनाउन सञ्चारकर्मीहरुले सञ्चारका जुनसुकै माध्यमहरु पनि प्रयोग गर्न सक्ने धारणा व्यक्त गरे । प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष राजेन्द्र लिगलले महिला सञ्चारकर्मीहरु सञ्चार क्षेत्रमा आए पनि पुरातन सोंचका कारण लामो समयसम्म टिक्न नसकेको बताए ।

कार्यक्रममा पाल्पाका उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष यादवसिंह कार्कीले समाज रुपान्तरणमा महिला सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा समूहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । लायन्स क्लब अफ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपिएको बताए । गुणस्तरीय, विश्वसनीय र खोजमूलक समाचार प्रकाशन तथा प्रशासरणमा ध्यान दिन उनले सञ्चारकर्मीलाई सुझाव दिए । पाल्पा व्यापार संघका प्रतिनिधि अम्विका तिमिल्सीनाले महिला पत्रकारहरु पनि संगठित हुनु सकरात्मक भएको बताईन् ।

रोटरी क्लव अफ पाल्पा तानसेनका अध्यक्ष शैलेन्द्र भट्टराईले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका सदस्य रञ्जना अर्यालले पिछाडीएका महिलाहरुको हक अधिकारका विषयमा कलम चलाउन महिला सञ्चारकर्मीहरुलाई आग्रह गरिन । समूहका अध्यक्षका विन्दु थापाको अध्यक्षता, सचिव सविना थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update