Shittalpati
नाग पञ्चमी पर्व मनाइयो

पाल्पा, प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नाग पञ्चमी पर्व मनाइएको हो । घरको मूलढोकामाथि नागको तस्विर टाँस्दा नाग, सर्प र विच्छी लगायतका जीवले दुःख नदिने र घरमा लक्ष्मीले वास गर्ने जनविश्वास छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाइएको थियो । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

नाग पञ्चमीका दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । ज्योतिषशास्त्र–अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन । वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ । पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतिक नै हुन् । नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाइ गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् भन्ने प्रचलन छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update