Shittalpati
तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने

कृष्ण पोखरेल

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले आवासीय सहित छात्रावास सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादर घर्ती मगरले गाउँपालिकाको अधिकास क्षेत्र डाँडाकाडा भएकाले पठन पाठनका लागि बालवालिकाहरु ३ घण्टासम्म हिड्नु पर्ने अवस्था रहेकाले पालिकाले आगामी दिनमा आवासीय सहितको छात्रावास सचालन गर्ने योजना बनाएको बताएका छन् ।

ओखलढुङ्गामा ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास गर्दै अध्यक्ष घर्तिले गाउँपालिकाका विद्यालयमा टाढा–टाढाबाट हिडेर पठन–पाठनको लागि बालवालिका आउने, जाडो याममा बालबालिका विद्यालय पढेर घरमा जाँदा रात पर्ने भएकाले आवासीय रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । बजार क्षेत्रमा होस्टल, छात्रावासको व्यवस्था भए पनि गाउँ गाउँका विद्यालयहरुमा पनि व्यस्थित आवासीय सहित छात्रावासको व्यवस्था गरी विद्यार्थी टिकाउन सकिने अध्यक्ष घर्ति मगरले बताए । विद्यालयमा पर्याप्त भवन अभाव हुँदा बालिबालिकाको पठन पाठनको लागि पर्याप्त कक्षा कोठा, पुस्तकालय, सभाहल, कम्युटर कोठाहरु नहुँदा समस्या हुँदै आएको थियो । अध्यक्ष घर्तिमगरले विगतका समयमा विद्यालमा पर्याप्त भवन नहुँदा पठन–पाठनमा समस्या भएपनि अबका दिनमा विद्यालयमा भवनको अभाव नहुने बताए ।

पालिका भित्र पुन निर्माण प्राधिकरणबाट ४ कोठे भवन ११ वटा, ३ कोठे भवन ६ वटा, २ कोठे भवन ११ वटा गरी २८ वटा र शिक्षा विभाग, गाउँपालिकाको तर्फ छ कोठे १ वटा, चार कोठे ४ वटा, दुई कोठे १९ वटा गरी जम्मा ५२ वटा विद्यालय भवन निर्माण भएको अध्यक्ष घर्तिमगरले बताए ।

शिलान्यास कार्यक्रममा वडा नंं १ का वडा अध्यक्ष रोमबहादुर लम्तरीले ज्ञानोदय मावि साविकको कचल गाविसको सबैभन्दा पुरानो विद्यालय भएकाले विद्यालयमा टाढा–टाढाबाट बालबालिका पठन–पाठनको लागि आउने गरेको बताए । विद्यालयमा पठन–पाठन राम्रो भएपनि भवन अभाव हुँदा केही समस्या भए पनि भवन निर्माण पुरा भएपछि कक्षा कोठाको अभाव नहुने बताए । गाउँपालिकाका युवा समन्वय समितिका संयोजक प्रेम श्रेष्ठले शिक्षा नै सबैभन्दा ठूलो विकास भएकाले गाउँ गाउँमा गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाको सबै पक्षसँग समन्वय गरी विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सक्रिय भुमिका खेल्दै आएको बताए ।

कार्यक्रममा वडा सदस्य देउ बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका सदस्य उमा अर्गाली लगायतले विद्यालय भवन निर्माणले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरी नारायण पौडेलले विद्यालयमा हाल ३ सय जना विद्यार्थीहरु अध्ययन गर्दै आएको बताए । विद्यालयमा आवासीय सहितको छात्रावास सञ्चालन गर्न सकिएमा काफलबारी क्षेत्रबाट आउने बालवालिकाहरुको लागि पठन –पाठनमा सहज हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन सिंङ्ग चिदीको अध्यक्षता, शिक्षक अभिवाक संघका अध्यक्ष धनबहादुर घर्तिको स्वागत, विद्यालयका प्र.अ. हरी नारायण पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । तीन बर्षको अवधिमा राष्ट्रिय पुननिर्माण प्राधिकरण सहयोगमा आगामी कार्तिक भित्र सक्ने गरी ७० लाख रुपैयाँको लागतमा ४ कोठे भवन निर्माण शुरु भएको हो ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update