Shittalpati
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र

पाल्पा, पाल्पामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिइएको छ । जिल्लामा कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको हो ।

यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न उक्त अभियान घोषणा गरेको छ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत जिल्लाका सम्पूर्ण स्थानीय तहमा अभियानलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि सचेतनाकामूलक सन्देशहरु समेत प्रवाह गरिदै आइएको उपरीक्षक त्वातीले जानकारी दिए । उनका अनुसार माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटमार्फत सचेतनामूलक कार्यक्रम गरी नागरिकलाई सचेत गराइएको छ । यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा पहिलो पटक उल्लङ्घन गर्नेहरुलाई प्रहरीले रोकी सम्झाई बुझाई गरी छाडेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update